आमाबाबु गुमाएका बालबालिकाको बिचल्ली

बुबाले आत्महत्या गरे, आमाले छोडेर गइन् । उनीहरुको नाबालक सन्तानको भविष्य अन्धारकारमय बन्यो । मालिका गाउँपालिका–३ का पाँच वर्षीय सन्दीप र तीन वर्षीया प्रदीप घर्ती मगर अभिभावविहीन भएका छन् ।

११ असोज २०७७ मा (दशैको अर्को दिन) बुबा चन्द्रबहादुर घर्ती मगरले आत्महत्या गरे । बुबा बितेको पाँच महिना नपुग्दै आमा अर्कैसँग विवाह गरेर गइन् । जसकारण दुई बच्चाहरुको बिचल्ली भएको छ । चन्द्रबहादुरका तीन श्रीमती हुन् । अहिले दुई बालक जेठीआमाको छोरा मीनबहादुर घर्ती मगरसँग बसेका छन् । दुई भाइ नै शारीरिक रुपमा तन्दुरुस्त छैनन् । सन्दीपको एउटा आँखाको ज्योति गुमेको छ भने प्रदीप कुपोषणले ग्रसित रहेको मालिका गाउँपालिका–३ ह्वाङदीका वडाध्यक्ष राजकुमार विकले जानकारी दिए ।

कुलदीप विक साढे दुई वर्षका भए । चार महिनाको फरकमा बुबाआमा बिते । सम्पत्तिको नाममा टाउको ओत्ने घर मात्रै छ । थोरै अन्न फल्ने बारी पनि साहुको बन्धकीमा । १३ वर्षीया लक्ष्मीको काँधमा साढे दुई वर्षका भाइ र १० वर्षकी बहिनी मोनिकाको हेरचाह र पालनपोषणको जिम्मेवारी छ । बुबा मीनबहादुर विक वैशाख २०७६ मा बिते । सोही वर्षको भदौमा आमाको पनि मृत्यु भयो । त्यसपछि बालबालिका बिचल्लीमा परेका हुन् । उनीहरुको घर मदाने गाउँपालिका–५ मलागिरी हो ।

लक्ष्मी र मोनिकाको उमेर स्कुल जाने हो । तर, अक्षर चिन्ने अवसर पाएका छैनन् । ‘बुबाआमासँग भारत हुँदा कहिलेकाहीँ स्कुल गएँ, अहिले पढ्ने रहर भएर के गर्ने दुई भाइबहिनी मैले हेर्नुपरेको छ,’ उनले भनिन्, ‘झन् ठूलो पीडा खानकै छ ।’

आमाको मृत्यु हुँदा भाइ कुलदीप डेढ वर्षका थिए । बिरामी र दुधेबालक भएकाले हुर्काउन निकै मुस्किल परेको लक्ष्मीकी साइँली आमा सुन्तली विकले गुनासो गरिन् । ‘गाउँमा सबैका आफ्नै पीडा छन्, काममा नगए कसैलाई खान पुग्दैन,’ उनले भनिन्, ‘बालबालिकाको कसले रेखदेख गरून् ।’

मीनबहादुर विक भारतमा काम गर्थे । सबै परिवारसँगै थिए । छोरा जन्मिएपछि श्रीमती जुठी निकै बिरामी परिन् । आमाछोरा ६ महिना अस्पतालमा भर्ना भएकाले मीनबहादुरलाई त्यो खर्च थेग्न मुस्किल पर्‍यो । त्यही खर्च जोहो गर्दै हिँडिरहेकै बेला मीनबहादुरको एक्कासी मृत्यु भयो । छिमेकी खीमबहादुर विकले उनको काजकिरिया गरे । आर्थिक अवस्था नभएपछि श्रीमती जुठी थला परेको ज्यानसहित छोराछोरी बोकेर असार २०७६ मा घर आइन् । उनको माइत मदाने गाउँपालिका–६ पुर्कोटदहमा हो । उनी त्यहीँ बस्दै आएकी थिइन् । गाउँ आएको दुई महिनामै उनको पनि मृत्यु भएको वडाध्यक्ष हिमाल खड्काले बताए ।

मीनबहादुर विकका पाँचजना छोराछोरी छन् । सबैजना भारतमा सँगै थिए । विक परिवारमा बज्रपात पहिलेबाटै पर्दै आएको थियो । बुबाआमा पहिले दुई छोराछोरीको पनि गाडीको ठक्करबाट ज्यान गएको थियो । १४ वर्षीया अस्मिता विकको आठ वर्षअघि भारतको जीरापुरमा गाडीको ठक्करबाट मृत्यु भयो भने छोरी मरेको चोट सेलाएको थिएन । कमाउन थालेका २१ वर्षका छोरा सूर्य विकलाई पनि चार वर्षअघि गाडीले ठक्कर दिएर ज्यान गएको वडाध्यक्ष खड्काले जानकारी दिए ।

खड्काले आफूहरुले गर्ने क्षणिक सहयोगले मात्रै नपुगेको गुनासो गरे । छिमेकी दुजमान खड्काले मीनबहादुरका छोरा २१ वर्षीय छोरा सूर्य विकको गाडीले ठक्कर दिएपछि क्षतिपूर्तिस्वरूप ३२ लाख रुपैयाँ पाउने भए पनि प्रक्रिया पूरा गर्ने कोही नभएको गुनासो गरे । उनले त्यो पैसा बालबालिकाले पाउने नै भए जीविकोपार्जनमा सहज हुने खड्काले बताए । न्युज कारखाना

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्