अफगानिस्तानका पूर्वमन्त्री जर्मनीमा ‘डेलिभरी ब्वाइ’काे काम गर्दै

सयेम सादात अफगानिस्तानका पूर्व सञ्चारमन्त्री हुन् । दुई वर्षसम्म मन्त्री पदमा रहेका सादातले सन् २०१८ मा आफ्नो पदबाट राजीनामा दिए र जर्मनीतर्फ लागे ।

भविष्यको खोजीमा जर्मनीको पूर्वी सहर लेइपजिगमा पुगेका उनी ‘डेलिभरी ब्वाइ’ को काम गरिरहेका छन् ।

अफगानिस्तानको मन्त्री भइसकेको व्यक्ति ‘डेलिभरी ब्वाइ’ भनेको भन्दै उनले आलोचना पनि सहनु पर्याे । तर उनी सबै रोजगारी समान हुने बताउँछन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा ४९ वर्षीय सादातले भने, ‘मलाई यो काम गर्दा कुनै नराम्रो लागेको छैन ।’ मलाई आशा छ, अन्य राजनीतिज्ञले पनि यही बाटो समात्नेछन् । लुकेर बस्नुभन्दा आम नागरिकसँग काम गर्नु बेस् ।’

अहिले अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै त्यहाँको अवस्था पनि अस्तव्यस्त बनेको छ । धेरै मानिस मुलुक छाड्न चाहन्छन् ।

सादातको परिवार र साथीहरु अफगानिस्तान छाड्न चाहन्छन् । अहिले सञ्चालन भइरहेको उद्धार उडानमा सामेल हुन चाहन्छन् । अमेरिकाले आफगानिस्तानबाट आफ्नो सेना फिर्ता लैजान थालेसँगै यसवर्ष जर्मनीमा पनि आश्रय खोज्ने अफगानिस्तानका शरणार्थी बढेका छन् । जर्मनीको आप्रवासी तथा शरणार्थी कार्यालयको तथ्यांकअनुसार यो संख्या यस वर्ष १३० प्रतिशतले बढेको छ ।

तर जर्मनीमा आश्रय पाइहाले पनि जिविका चलाउन सहज छैन । त्यसको प्रमाण सादात आफैं हुन् । सूचना प्रविधि र दूरसञ्चारमा मास्टर्स डिग्री हासिल गरेका सादातले जर्मनीमा आफूले अध्ययन गरेको विषयमा काम पाउने अपेक्षा गरेका थिए । तर जर्मन भाषा नजानेको कारण काम पाउन कठिन भयो । बेलायती नागरिकता बोकेका उनी अहिले दैनिक चार घण्टाको जर्मन भाषाको कक्षा लिन्छन् । त्यसपछि ६ घण्टा खाना डेलिभरी गर्ने काम गर्छन् ।

त्यसो त उनलाई सुरुवाति दिनमा जर्मनीमा साइकल चलाउन पनि सहज भएन । ‘सुरुआती दिनहरु उत्साहप्रदका साथै निकै कठिन थिए’, सादात भन्छन्, ‘तपाईँ जति धेरै बाहिर जानुहुन्छ, जति धेरै मानिससँग भेट्नुहुन्छ, सिक्ने अवसर पनि त्यति नै धेरै हुन्छ ।’ एजेन्सी

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्