खोटेहाङ गाउँपालिकामा अवरुद्ध पठन–पाठन सुचारु

कोभिड महामारीबीचमै खोटाङकाे खोटेहाङ गाउँपालिकामा पठन-पाठन सञ्चालन भएको छ ।

पछिल्लो समय कोभिड संक्रमण दर केही कम हुँदै गएपछि अवरुद्ध पठन–पाठन बिहीबारदेखि सञ्चालन भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले जानकारी दिए ।

९ वडा रहेको गाउँपालिकाभित्रका नौ मावि, १० आधारभूत र ३० प्राविमा बिहान र दिउँसोको सिफ्ट बनाएर पठन-पाठन सुरु गरिएको हो ।

शिक्षक संख्या पर्याप्त भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षादेखि कक्षा ५ सम्मको पठन-पाठन बिहान ७ देखि १० बजेसम्म तथा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन बिहान १० देखि दिउँसो २ बजेसम्म सञ्चालन सुरु गरिएको छ ।

यस्तै, शिक्षक संख्या र विद्यार्थी संख्या न्यून भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षा ८ सम्मको पठन-पाठन बिहान १० देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

तर, कक्षा ६ देखि ८ तथा कक्षा ९ र १० को पठन-पाठन भने विद्यालयको अनुकूलमा सातामा तीन दिन मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

विद्यार्थी सिकाइ निरन्तरताका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीबाट प्राप्त पत्र एवं विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७८ को दफा ५ को उपदफा ४ अनुसार गाउँ शिक्षा समितिको ८ भदौको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै गराउँदै पठन-पाठन सुरु गर्न गाउँपालिकामा सिफारिस गरेको थियो ।

गाउँ शिक्षा समितिको सोही सिफारिसलाई १३ भदौको गाउँ कार्यपालिकाको बैठकबाट अनुमोदन गरेर अवरुद्ध पठन–पाठनलाई सञ्चालन गराइएको गाउँपालिकाले जनाएको छ । प्रत्येक बेञ्चमा दुईजना मात्र विद्यार्थी राख्ने र दैनिक दुई वा तीन विषयको मात्र सिकाइ सहजीकरण गर्ने व्यवस्था मिलाइएको  राईले बताए ।

गाउँपालिकाले प्रधानाध्यापकलाई दैनिक कक्षा निरीक्षण गर्ने, सहजीकरण गरिएका विषयमा अस्पष्टता भए सियुजी वा इन्टरनेटका माध्यमबाट शिक्षक–विद्यार्थीबीचमा अन्तरक्रिया गर्ने, हरेक साता शिक्षक तथा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने, विद्यार्थीको स्वास्थ्यमा समस्या देखिए तत्काल अभिभावकलाई खबर गर्ने वा अन्य निकायलाई जानकारी दिने, सिकाइ सहजीकरणलगायत सियुजी सेवाको प्रयोग र प्रभावकारितालगायतका विषयमा विव्यास, विद्यालय प्रशासन र अभिभावकबीचमा अन्तरक्रिया गर्ने व्यवस्थाका लागि वडा शिक्षा समितिलाई निर्देशन दिएको छ ।

गाउँपालिकाको निर्देशनअनुसार विद्यार्थी सिकाइ सहजीकरणका लागि हरेक वडा शिक्षा समितिले १५ भदौमा बैठक राखेको थियो । वडा शिक्षा समितिको बैठकले गाउँमा कोही बिरामी भएको सूचना विद्यार्थीमार्फत लिने, कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउन विद्यालयमा सचेतता अपनाउनेलगायतका निर्णय गरेको जनाएको छ ।

खोटेहाङ गाउँपालिकामा ४९ सामुदायिक विद्यालय बाहेक खोटाङ क्याम्पस र सिमपानी क्याम्पस, चारवटा स्वअध्यन केन्द्र तथा दुईवटा संस्थागत विद्यालय छन् । न्युज कारखाना

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्