खुकुरी खेलमा विश्वकीर्तिमान राख्न अभ्यासरत किरण राईलाई सात लाख सहयोग

खुकुरी खेलकाे आठवटा विधामा एकसाथ विश्वकीर्तिमान (गिनिज बुक अफ वल्ड रेकर्डस्) राख्नका लागि अभ्यास गरिरहेका मार्सल आर्टका खेलाडी किरण राईलाई मंगलबार सात लाख १३ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

काठमाडौँको कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा किरात राई खेलकुद संघले एक कार्यक्रमको आयोजना गरी राईलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

उक्त सहयोग रकम तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी तथा सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक अध्यक्ष राष्ट्र राईको पहलमा किरात राई यायोक्खा बेलायत र भोजपुर सेवा समाज बेलायतद्वारा संकलन गरिएको हो ।

नेपाली कांग्रेसकी संघीय सांसद महेन्द्र लिम्बु तथा किरात राई यायोक्खाका अध्यक्ष दिवस राईमार्फत सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सो क्रममा ‘द कमाण्डो’ नामक नेपाली चलचित्रका नायक राजकुमार राई, पूर्व माओवादी लडाकू तथा म्याराथन खेलाडी मिरा राई लगायतले पनि भोजपुर घर भएका खेलाडी किरण राईलाई आर्थिक सहयोग गरेका थिए ।

किरात राई खेलकुद संघका अध्यक्ष महेन्द्र राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा तेक्वान्दोका ग्राण्ड मास्टर आठौँ साफका स्वर्ण र दशौँ एसियन गेमका काँस्यपदक विजेता समेत रहेका नायक राजकुमार राई, अल्ट्रा म्याराथन खेलाडी मिरा राईसहित १३औँ दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता किरात राई खेलाडीहरुलाई फेटा लगाएर सम्मान गरिएको थियो ।

१३औँ सागमा राई समुदायबाट २८ जना खेलाडीहरु सहभागी भएकोमा २६ जनाले विभिन्न पदक पाएका थिए ।
जसमध्ये मंगलबारको कार्यक्रममा करिब एक दर्जन खेलाडीहरुमात्र सहभागी हुन आइपुगेका थिए ।

राजकुमार राई

कार्यक्रममा खेलकुद संघका अध्यक्ष महेन्द्र राईले खेलाडी किरण राईलाई आर्थिक सहयोग गर्नुपर्ने कारणसहित कार्यक्रमबारे प्रकाश पारेका थिए ।

जसमा प्रमुख अतिथि रहेकी सांसद लिम्बुले किरण राईलाई शुभकामना दिँदै अब राई खेलाडीहरु संगठित भएर खेल क्षेत्रमा अझ उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताइन् ।

यायोक्खाका अध्यक्ष दिवस राईले किरात राईहरु खेल क्षेत्रमा मात्र नभएर अब कला संगीत, प्रशासनदेखि राजनीति क्षेत्रमा पनि अग्रस्थानमा रहेको बताए ।

आफूलाई आर्थिक लगायत विभिन्न खालको सहयोग गरेकोमा खेलाडी किरण राईले आभार व्यक्त गरे । कार्यक्रममा पूर्व ब्रिटिस आर्मी समेत रहेका नायक राजकुमार राईले पनि शुभकामना दिएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्