एक वर्षभित्र भान्साबाट एलपी ग्यास विस्थापित गरौँ : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गरेकी छन् ।

ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य सङ्घले विजयादशमी, दीपावली, नेपाल संवत् ११४२ तथा छठपर्वका उपलक्ष्यमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भनिन्, “एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाऔँ, विद्युतीय चुल्हो प्रयोग गरौँ । डलर साटेर आइसीले खरिद गरेको ग्यास विस्तापित गरौँ ।”

लोडसेडिङका समयमा सबैभन्दा कम विद्युत् खपत गर्ने संरचना निर्माण गरिएको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “बत्तीमात्र बाल्नका लागि बनाइएका संरचनामा सबैखाले उपकरण विद्युत्बाट चलाउन नसक्ने अवस्था पनि हुन सक्छन् । अब विद्युत्को चुल्हो बाल्ने गरी संरचना निर्माण गर्दै जाऔँ, आफ्नै देशको जलविद्युत्को अधिकतम प्रयोग गरौँ ।”

उनले सामाजिक एवम् आर्थिक रुपान्तरणको आधार भनेको ऊर्जा, सडक र खानेपानीको उपलब्धताबाट हुने बताउँदै सबै खाले ऊर्जाका स्रोतलाई विस्थापित गरेर जलविद्युत्को प्रयोगतर्फ अगाडि बढ्नुपर्ने समय आएको उल्लेख गरिन् ।

मन्त्री भुसालले आगामी दिनमा यातायात र उद्योगीले मागेजति विद्युत् उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गर्दै सबै ठाउँमा ऊर्जाका रूपमा जलविद्युत्को प्रयोग गर्न आग्रह गरिन् ।

स्वदेशी विद्युत् खपतलाई बढवा दिने उद्देश्यले आफूले मन्त्रालय सम्हालेपछि महसुल दरमा कमी गरेको उनको भनाइ छ । उनले भनिन्, “खास गरेर घरायसी प्रयोजनमा त्यस्तो निर्णय भएको छ । अब एलपी ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ ।”

मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय गरेको जानकारी दिँदै आफ्नो निर्णयले ग्रामीण जनताका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

कृषि क्षेत्र मुलुकको आर्थिक आधार भएको उल्लेख गर्दै उनले खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने र त्यसका लागि आवश्यक पर्ने विद्युत्मा सहुलियत दिने नीतिलाई आफूले बढवा दिएको स्पष्ट पारिन् ।

उनले भनिन्, “सबै खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउन सके, उत्पादन र उत्पादकत्व बढ्छ, वार्षिक रु दुई खर्बको कृषिजन्य आयात न्यूनीकरण गर्न मद्दत पुग्छ र व्यापार घाटा कम भई देशको आर्थिक एवम् सामाजिक क्षेत्रमा योगदान दिनेछ ।”

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्