अमेरिकाकाे एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्याराेपण गरेकाे छ ।
युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा प्रत्याराेपण गरेकाे र यसले अस्थायी रुपमा काम गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ ।
यस प्रक्रियालाई नेतृत्व गर्ने डाक्टरले यसलाई ‘सम्भावित चमत्कार’ भनेका छन् ।
यो शल्यक्रिया गएको वर्षको सेप्टेम्बर २५ मा भएको थियो । जसमा एक अनुवांशिक रूपबाट संशोधित दाता जनावर र एक ब्रेन डेड (मष्तिष्क मृत) रोगी सहभागी थिए ।
ती व्यक्तिका परिवारले विज्ञानको प्रयोगका लागि दुई दिनको अनुमति दिएका थिए ।
न्युयोर्क विश्वविद्यालय लेङ्गोनमा ट्रान्सप्लान्ट इन्स्टिच्युटका निर्देशक रोबर्ट मोन्टगोमरीले एक साक्षात्कारमा एएफपीसँग भने, ‘मिर्गौलाले ठिक त्यसरी नै काम गर्यो जसरी गर्नुपर्ने थियो । मिर्गाैलाले फोहर हटायो र मूत्र बनायो ।’
झन्डै दुई घण्टासम्म चलेको शल्यक्रियामा डाक्टर रोबर्टलाई उनका अरू साथीले सहयोग गरेका थिए । बेलायतको बर्मिङ्घम विश्वविद्यालयका एक डाक्टर हाइनेक मर्जेन्टलले जेनोट्रान्सप्लान्टेशन क्षेत्रमा महत्त्वपूर्ण वैज्ञानिक उपलब्धि भएको बताएका छन् ।