वरिष्ठ पत्रकार तथा वाम्बुले राई समाजका अध्यक्ष गजुरधन राईले यस पटकको राष्ट्रिय जनगणनामा वाम्बुले राईहरुको जनसंख्या बढ्ने दाबी गरेका छन् ।
२०५८ सालको राष्ट्रिय जनगणनामा करिब ४ हजार देखिएको वाम्बुले राईहरुको संख्या २०६८ सालमा आइपुग्दा १४ हजार पुगेको र हाल २०७८ को राष्ट्रिय जनगणनामा पनि बढ्ने उनको भनाइ छ ।
साल्पा अनलाइनसँगको अन्तर्वार्तामा उनले हाल समाजकाे नेतृत्वमा राष्ट्रिय जनगणनाबारे सचेतना अभियान सञ्चालन गरिरहेको बताए ।
ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर लगायत जिल्लामा रहेको वाम्बुले राईहरुले कतिपयले यसअघि जातिको महलमा पाछा लेखाएको र मातृभाषामा पनि वाम्बुले नलेखाएर राई भाषा लेखाएकाले अहिले समुदायमा सचेतना अभियान चलाइएकोले पहिलेको भन्दा जनसंख्या बढ्ने उनले बताए ।
देशभर करिब १० वटा जिल्लामा रहेका वाम्बुले राईहरुको संख्या ५० देखि ६० हजार हुनुपर्ने उनको भनाइ छ ।
उनले २०५८ सालपछि आफूहरुले समुदायमा सचेतना अभियान चलाएकोले नै २०६८ सालको जनगणनामा वाम्बुलेहरुको संख्या १० हजारले बढेको बताए र अहिले पनि समुदायमा सचेतना अभियान जारी रहेकोले अझै संख्या बढ्ने उनले बताए ।
उनले समुदायमा जातिमा राई, मातृभाषा र पुर्खाको भाषामा वाम्बुले र धर्मको महलमा किरात लेख्ने लेखाउने अभियान चलाइएको बताए ।
दोस्रो भाषामा भने नजिक रहेको राईभित्रका अन्य भाषाहरु उल्लेख गर्ने गरी अभियान चलाइएको उनले बताए ।
हाल किरात राईभित्रका २६ भाषिक संस्थाहरुले आ-आफ्नाे क्षेत्रमा जनगणना सम्बन्धी अभियान चलाइरहेका छन् ।