राष्ट्रिय जनगणना २०७८ : ‘हामी गणकहरुसँगै टोलटोलमा खटिनुपर्छ’

खोटाङस्थित साकेला गाउँपालिका–५, मात्तिमका वडाअध्यक्ष वीरबल राईले कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुने राष्ट्रिय जनगणना–२०७८ मा गणकहरुका साथमा टोलटोलमा नखट्ने हो भने किरात राईहरुको सही तथ्याङ्क नआउने बताएका छन् ।

किरात राई चाम्लिङ खाम्बातिमले गत कात्तिक १७ गते मात्तिममा आयोजना गरेको जनगणना सम्बन्धी सचेतना कार्यक्रममा वडाअध्यक्ष राईले गणकहरुको साथमा घरघरमा नहिड्ने हो भने उनीहरुले राईहरुको धर्ममा हिन्दु लेख्न सक्ने बताएका हुन् ।

गणकहरुलाई हिन्दु धर्म लेख्न प्रशिक्षण दिइएको दाबी गर्दै उनले भने, ‘गणकहरुलाई हिन्दु लेख्नू भनेर प्रशिक्षण दिएको हुन्छ । हामी टोलटोलमा खटिनुपर्छ, खटिएन भने अहिलेको जनगणनाबाट पनि सही तत्थ्याङ्क आउँदैन ।’

कार्यक्रममा उनले गाउँमा सबै जातजाति मिलेर बसेको भए पनि राज्य सञ्चालन गर्नेहरुले एउटा धर्मलाई मात्र बोकेर हिडिरहेको बताए ।

राज्य धर्मनिरपेक्ष भए पनि गाई–गोरु काटेर खानेहरुलाई जेल हाल्ने गरिएकोमा उनले आक्रोश व्यक्त गरे ।

‘नेपालमा गोरु काटेर खाने, गाई काटेर खाने मान्छेहरुलाई जेल लगाइएको छ, जेल हाल्न पाइन्छ ?,’ उनले भने, ‘क्रान्ति गर्नका लागि सबै धर्म मान्ने मान्छेहरु, हिन्दु धर्म मान्नेहरुले, बौद्ध धर्म मान्नेहरुले, किरात वा इस्लाम धर्म मान्नेहरुले जेको बलि दिँदा उसको आत्मशान्ति हुन्छ त्यो हो धर्मनिरपेक्षता ।’

नेपाल आदिवासी जनजाति महासंघ साकेला गाउँपालिकाका अध्यक्ष निर चाम्लिङले जनगणनामा सही तत्थ्याङ्क निकाल्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जनगणना सचेतना कार्यक्रममा किरात राई यायोक्खाबाट अञ्जना राई, जितु राई, किरात राई पत्रकार संघका पूर्वमहासचिव तथा पत्रकार विजय चाम्लिङ, मात्तिम डाराटोलका ज्ञानेन्द्र चाम्लिङ, खिदिमाका सोमराज राई, ओखरबोटेका नारायण राई, कात्तिकेका ज्ञानदिन राई लगायतको उपस्थिति थियो ।

जसबाट वडा नं ५ का सबै टोलमा गणकहरुसँगै खट्ने र सही तत्थ्याङ्क लेखाउन सहयोग गर्ने उदेश्यले फोकल पर्सन समेत तोकिएको थियो ।

खाम्बातिमले जनगणनामा जातिको महलमा राई, पुर्खाको भाषा र मातृभाषामा चाम्लिङ, दोस्रो भाषामा नजिक रहेका राईभित्रका कुनै एक भाषा र धर्मको महलमा किरात लेख्ने लेखाउने अभियान सञ्चालन गरिरहेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्