मेलम्ची नआउँदासम्म उपत्यकामा दैनिक एक करोड लिटर पानी थपिने

काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको हो ।

उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको छ । मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताउनुभयो । उहाँकाअनुसार अहिले भइरहेका मुहान संरक्षण गरेर त्यहीँबाट बढी पानी लिन लागिएको छ ।

पुराना ट्युवबेल संरक्षण गर्न थालिएको छ । उपलब्ध पानीको परिमाण बढेपछि तालिका हेरफेर गरेर वितरण गरिने उहाँले बताउनुभयो ।

उपत्यकामा कतिपय स्थानका सेवाग्राहीले आफ्नो घरमा पानी नआएको भनी गुनासो गर्दैआएका छन् । उहाँले भन्नुभयो, “ती स्थानमा पनि ट्याङ्करबाट सार्वजनिक ट्याङ्कीमा भरेर सुख्खा व्यवस्थापन गरिनेछ ।” लिमिटेडले उपत्यकाभित्रै खानेपानीको क्षमता बढाउन १० स्थानमा ट्युबवेल खन्न लागेको बताएको छ ।

भइरहेका मुहान बढाउँदा र डिप ट्युबेल गरी हाल भइरहेको पानीमा एक करोड लिटर थप हुनेछ । हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । वर्षामा झण्डै १७ करोड र हिउँदमा त्योभन्दा कम उपलब्ध गराउन सकिएको लिमिटेडले जनाएको छ । हिउँद लागेसँगै अहिले पानीको उपलब्धता घटेर दैनिक आठदेखि नौ करोड लिटर पानी वितरण भइरहेको छ ।

लिमिटेडअन्तर्गत सम्बन्धित शाखाले आफ्नो क्षेत्रमा कुन बार र कति बजे पानी वितरण गरिने भनी फेसबुक पेजबाट तालिका राख्ने गरेको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले वैकल्पिक पानीको स्रोतको पनि अध्ययन गरिरहेको छ ।

सिस्नेरी, कुलेखानीलगायतका पानीको स्रोतको पनि सम्भाव्यता अध्ययन भइरहेको छ । लिमिटेडले उपत्यकामा जग्गा उपलब्ध हुनसक्ने ठाउँमा डिपवेल निर्माण गरिरहेको छ । सानेपा–बल्खुमा एउटा निर्माण सकिएको छ भने गोकर्ण, भक्तपुरलगायतका ठाउँमा निर्माण भइरहेको छ । स्थानीय तहले सार्वजनिक जग्गा उपलब्ध गराउँदा अध्ययन गरेर सम्भावना भएमा खन्ने गरिएको छ ।

काठमाडौँ उपत्यकामा दशकौंदेखि खानेपानीको समस्या छ । पानीको समस्या हटाउन मेलम्चीको पानी ल्याउने प्रयासमा सरकार लागेको छ । मेलम्चीमा भएको दुर्घटनाका कारण पानी आउन रोकिएपछि पुनः समस्या बढेको छ ।

यसअघिको सरकारले मेलम्चीको पानी काठमाडौंमा परीक्षणका लागि ल्याएको थियो तर बाढीपहिरोका कारण पुनः अवरुद्ध हुनपुग्यो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्