हलेसी तुवाचुङ नगरपालिकाद्वारा चाम्लिङ भाषा पढाउने शिक्षक दरबन्दी सिर्जना

चाम्लिङ भाषा अध्यापन गराउन हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषा स्रोत शिक्षक) दरबन्दी सिर्जना गरेको छ । हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईका अनुसार विद्यालयको मागबमोजिम यस्तो दरबन्दी सिर्जना गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा रहेको सर्वावती प्राथमिक विद्यालयका लागि प्रावि तहको नगर शिक्षक चाम्लिङ भाषा स्रोत शिक्षकको एक दरबन्दी सिर्जना गरिएको छ । भाषा अध्यापन गराउने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च उपलब्ध गराइएको छ ।

नगर शिक्षा समिति ११ कात्तिकको निर्णयअनुसार उक्त भाषा शिक्षकका लागि विद्यालय व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आह्वान गरेको थियो । शिक्षकलाई मासिक १३ हजार ५०० तलब सुविधा उपलब्ध गराइने विद्यालयले जनाएको छ ।

धितुङका सात विद्यालयमा २०६५ देखि चाम्लिङ राई भाषामा पठनपाठन हुँदै आएको छ ।

धितुङमा बुलापन्थे माध्यमिक विद्यालय, सूर्यज्योति मावि, जनचेतना प्रावि, सर्वावती प्रावि, दलित जनजारण प्रावि, जनकल्याण प्रावि र सर्वावती प्राविमा कक्षा ५ सम्म र पारुहाङ शरण प्राविमा कक्षा तीनसम्म चाम्लिङ भाषामा पठनपाठन हुँदै आएको छ । सर्वावती प्राविमा चाम्लिङभाषीले मात्र नभएर सबै जातजातिका विद्यार्थीले चाम्लिङ भाषाकै विषय अध्ययन गरिरहेका छन् ।

चाम्लिङ भाषाको संरक्षण र सम्वद्र्धनका लागि तत्कालीन गाविसमार्फत शिक्षकलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च उपलब्ध गराइएको थियो । शिक्षक सरुवा हुँदा सूर्यज्योति माविमा दुई/तीन वर्ष चाम्लिङ भाषाको पढाइ भएको थिएन ।

स्थानीय तह कार्यान्वयनमा आउन अगाडि सो भाषा शिक्षकका लागि एक आर्थिक वर्षसम्मका लागि तत्कालीन शिक्षक खम्बराज राईको पहलमा किरात राई यायोक्खा प्रारम्भिक कमिटी गठन गरी एक लाख बजेट उपलब्ध गराइएको थियो । यो नै शिक्षकको प्रोत्साहनका लागि विनियोजन भएको सबैभन्दा ठूलो रकम थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्