छथरमा मुन्धुम गोष्ठी सम्पन्न, छकलीटारमा भूमिअधिकारबारे भेला हुँदै

लिम्बूहरुको फरक फरक थुममा गरिने मुन्धुम संस्कार तथा अभ्यासहरुलाई एकरुपता दिने प्रयास स्वरुप प्रदेश नं १ को धनकुटास्थित छथर जोरपाटी गाउँपालिकामा तीनदिने ‘दोस्रो राष्ट्रिय याक्थुङ मुन्धुम गोष्ठी’ सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङको आयोजनामा यही मंसिर १३, १४ र १५ गते गोष्ठी सम्पन्न भएको हो ।

जसमा १० लिम्बुवान १७ थुमका सबै थुमबाट १६३ भन्दा बढी प्रतिनिधिहरु सहभागी भएको चुम्लुङका केन्द्रीय सचिव यासेली योङहाङले बताए ।

हस्तपुर यकका प्रतिनिधिसमेत रहेका उनले लिम्बूहरुको मौलिक मुन्धुम संस्कार र संस्कृतिहरुको खोजी गर्नका लागि गोष्ठी आयोजना गरिएको बताए ।

कतिपय ठाउँका लिम्बुहरुले हिन्दुकरणको प्रभावले हिन्दुजन्य अभ्यास गरिरहेकोले ती अभ्यासहरु छोड्ने र मौलिक संस्कारहरु मात्र गर्ने लगायत विषयमा छलफल भएको उनले बताए ।

उनले भने, ‘कतिपयले मुन्धुमलाई हिन्दुकरण गरेर लगेको, सृष्टिको बयानमा कसैले केबाट, कसैले केबाट भनिरहेका बेला त्यसलाई एकरुपता बनाउने, हिन्दुकृत अभ्यासहरुलाई छोड्ने र जे हाम्रो मौलिक संस्कार हो त्यसलाई मात्र अगाडि लाने र आगामी दिनमा सच्याउँदै जाने कुरा भएको छ ।’

विभिन्न थुमबाट फेदाङ्मा, साम्बा, येबा, येमा र तुम्याहाङहरु सहभागी भएको उक्त गोष्ठीमा आधुनिक विकास र प्रविधिको उपभोग गर्नुको सट्टा पुर्खाहरुलाई सम्झँदै परम्परागत तथा मौलिक प्रविधि अपनाइएको थियो ।

गोष्ठीमा बिजुली बालिएन । बिजुलीको सट्टा आगो बालियो । ओडारमा बसेर कलमको सट्टा बासले बनेको कलम प्रयोग गरियो ।

गोष्ठी छथर गाउँपालिकाको आर्थिक सहयोगमा चुम्लुङका साथै याक्थुङ खेवाहाङ चुम्लुङको तावालुङ सुुसुवादेनको व्यवस्थापनमा भएको हो ।

यसका साथै यही मंसिर १७ र १८ गते तेह्रथुमको मेयङलुङ छकलीटारमा भूमिअधिकारसम्बन्धी चुम्लुङ (भेला) पनि हुन लागेको छ ।

उक्त भेला याक्थुङ (लिम्बू) सयङ सहजीकरण समूहको आयोजनामा हुँदैछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्