Wednesday, November 30, 2022
10.4 C
Diktel

तेस्रोलिङ्गी युवतीलाई बलात्कारपछि हत्या गर्ने तीन जनालाई आजीवन कैद

Subtitle

जिल्ला अदालत मकवानपुरले दुई वर्षअघि तेस्रोलिङ्गी युवतीलाई बलात्कारपछि हत्या गरेको ठहर गर्दै तीन जनालाई आजीवन कैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश दिल्ली रत्न श्रेष्ठको बिहीबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका– ११ घर भई हेटौंडा–१० मा बस्दै आएकी २९ वर्षीया तेस्रोलिङ्गी युवतीलाई जबरजस्ती करणी गरी हत्या गरेको ठहर गर्दै हेटौंडा उपमहानगरपालिका–४ का २५ वर्षका सुशील थापा मगर, २४ वर्षका आशिष वल र २१ वर्षका बुद्ध लामालाई आजीवन कैद गर्ने फैसला गरेको हो ।

अदालतले ६ महिना भित्रमा पीडित परिवारलाई तीन जनाबाटै जनही ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ ।

साथै उक्त घटनामा संलग्न रहेका अन्य तीन जनालाई भने १ देखि २४ वर्षसम्म कैद गर्ने फैसला गरेको छ ।

घटनामा संलग्न हेटौंडा उपमहानगरपालिका–९ का सिमोन परियारलाई हत्या र डकैतीमा गरी १३ वर्ष कैद र ९० हजार रुपैयाँ जरिवाना अदालतले तोकेको छ ।

उनले मृतकको शव लुकाउने काममा सहयोग गरी मोबाइल र सुनको सिक्री लुटेको प्रमाणित भएको छ ।

याे घटनामा १६ वर्षे नाबालक पनि संलग्न रहेको थिए । उनलाई अदालतले जबरजस्ती करणी र हत्या गरेको ठहर गर्दै १६ वर्ष ८ महिना कैद, डकैतीतर्फ ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । उनी नाबालिक भएको हुनाले आदेशमा जरिवानालाई स्थगन गर्ने उल्लेख गरिएको छ ।

घटना हेटौंडा उपमहानगरपालिका– ११ थाना भर्‍याङमा भएको थियो । यो घटनामा संलग्न रहेकी डोलमाया तामाङलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने ठहर गरेको छ । उनले डकैत गरेको मोबाइल चलाएकी थिइन् ।

२०७६ माघ ४ गते हेटौंडा उपमहानगरपालिका–५ क्याम्पाडाँडास्थित सडक छेउमा अर्धनग्न अवस्थामा तेस्रोलिङ्गी युवतीको शव भेटिएको थियो ।

लैंगिक अल्पसंख्यकको अधिकारका लागि समेत काम गर्दै आएकी उनले करिब एक वर्षअघिमात्र जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट आफ्नो पहिचानसहितको नागरिकता लिएकी थिइन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्