खोटाङमा प्रहरीले गोरु काटेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङ छन् ।
प्रहरीले आइतबार गोरु काटिरहेको सूचना पाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित दिखुवाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
साे क्रममा उनीहरुको साथबाट एउटा बञ्चरो र चारवटा खुकुरी बरामद गरिएकाे जनाइएकाे छ ।
प्रहरीले उनीहरुमाथि अनुसन्धान सुरु गरेको छ ।
गोरु नेपालका आदिवासी जनजातिहरुले मासुको रुपमा खाने गरेका छन् । देश हिन्दूराज्य भएको बेला गोरु खान बन्देज लगाइएको थियो ।
हाल देश धर्मनिरपेक्ष भए पनि राज्यले गोरु काटेको वा खाएको आरोपमा बेलाबेला मानिसहरुलाई पक्राउ गरी थुन्ने काम गरिरहेको छ ।
राज्यकाे यस प्रकारको व्यवहारकाे आदिवासी जनजाति अगुवाहरुले विरोध गर्दै आएका छन् ।