पसी शेर्पाको सम्झनामा खेलकुद प्रतियोगिता

लाक्पा जी शेर्पा

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा विभिन्न कार्यक्रमहरु आयोजना हुने भएको छ । स्व. पसी शेर्पाको सम्झनामा भलिबल तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

पसी शेर्पा स्मृति प्रतिष्ठानको आयोजनामा फागुन ११ देखि १५ गतेसम्म वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता र वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको प्रतिष्ठानका अध्यक्ष पासाङ ङिमा शेर्पाले जानकारी दिए ।

सार्वधिक पुरस्कार राशिसहित आयोजनाहुने प्रतियोगिता खिजीफलाटे बजारमा हुने अध्यक्ष शेर्पाले जनाए ।

भलिबल प्रतियोगितामा जिल्ला भित्रका ७५ वटै वडाभित्रका खेलाडीहरुलाई आमन्त्रण गरिएको छ । खेल प्रतिभा पहिचान तथा खेलाडीको सम्मानार्थ प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक विष्णु कुमार तामाङले जानकारी दिए ।

प्रतियोगितामा रनिङशिल्ड ५ लाख रुपैयाँ अंकित गरिएको छ । त्यस्तै, दुवै समूहतर्फ प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः नगद ६५ हजार, ४५ हजार, २५ हजार र १५ हजारका साथमा मेडल र प्रमाण पत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै, उत्कृष्ठ प्रतियोगी, स्पाइकर, सटर, प्लेयर लगायतलाई ट्रफीका साथमा मेडल र प्रशंसा–पत्र उपलब्ध गराउने कार्यक्रम संयोजक लालमान तामाङले जानकारी दिए ।

कार्यक्रमकैवीच चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

सोही कार्यक्रममा खिजीदेम्बा गाउँपालिका भित्रका विद्यालयमा अध्यायन गरी कक्षा १२ मा उत्कृष्ठ नतिजा प्राप्त गरी उत्तीर्ण छात्रा र छात्रलाई बार्षिक रुपमा जनही २५ हजार रुपैयाँ प्रदान गर्ने गरी बर्ष सर्वोेत्कृष्ठ विद्यार्थी घोषणा गर्ने र प्रशंसा पत्रका साथमा मेडल समेत प्रदान गर्ने जनाएको छ ।

के हो स्मृति प्रतिष्ठान ?

खेलकूद, शिक्षा तथा पर्यटन क्षेत्रलाई समेटेर खिजीदेम्बा गाउँपालिकालाई विशेष केन्द्रमा राखेर परोपकार तथा सामाजिम गतिविधिहरु सञ्चालन गर्न पसी शेर्पा स्मृति प्रतिष्ठान स्थापना भएको हो ।

प्रतिष्ठानले विविध सामाजिक कार्यहरुका साथमा राष्ट्र निर्माणमा योगदान दिने उद्देश्य लिइएको जनाएको छ । बार्षिक रुपमा खेलकूद मार्फत पर्यटन प्रबद्र्धन तथा समृद्धको क्षेत्रमा संस्थाले कार्य योजना बनाएर अघि बढेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

सामाजिक सेवामा अग्रणी भूमिका खेलेका लोकप्रिय गायक गम्बु शेर्पाले यस अघि शैक्षिक, सामाजिक तथा समुदायमा गरेका कार्यहरुलाई संस्थागत गर्दै त्यसलाई निरन्तर अझ व्यापक र व्यवस्थित बनाउन प्रतिष्ठान स्थापना गरेको जनाएको छ ।

सामाजिक सेवा र कलाको क्षेत्रमा ख्याती कमाए जेठा छोरा गायक गम्बु यतिवेला राजनीतिमा समेत क्रियाशिल छन् ।

आफ्नो आमाको सम्झना र महिलाहरुको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्न प्रतिष्ठानमार्फत अघि बढ्ने निर्णय गरेको उनले बताए ।

को हुन् पसी शेर्पा ?

स्व. पसी शेर्पा साविक खिजीफलाटेको भन्सेमा जन्मेकी सामान्य परिवारकी सदस्य हुन् । उनको ३३ बर्ष अघि निधन भयो । शेर्पाको विवाह खिजीफलाटे ६ को फेदी गाउँमा भएको हो । शेर्पाको ३ छोराहरु जेठा गम्बु, माइला कुसाङ र कान्छा पासाङ शेर्पा छन् ।

त्यस्तै, एक बहिनी छोरी डा. ङिमा शेर्पा छिन् । जेठा गम्बु शेर्पा लामो समय अमेरिका बसाई त्यागेर अहिले नेपालमा राजनीति र समाजसेवा क्रियाशिल छन् ।

उनले यस क्षेत्रको सामाजिक, आर्थिक, शैक्षिक विकास तथा समुदायकाहितमा विभिन्न कार्यक्रमहरु नियमित रुपमा काम गर्दै आएका छन् ।

गम्बु शेर्पाले गरेका कार्यहरुले राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा चर्चा कमाएका छन् । त्यस्तै, छोरी अमेरिकामा नर्सिंङ पेशामा क्रियाशिल छन् ।

उनी अफयुनिभरसिटी अफ साउन्थ अलावमप्रोफेसर हुन । त्यस विश्व विद्यालयमा उनी डाक्टर अफ नर्सिंङ प्रकाक्टिस पदमा छिन् ।

प्रतियोगिता किन ?

भूकम्प, बाढी पहिरो तथा यस भेगमा आइपर्ने विभिन्न दैविक, प्राकृतिकका समयमा समुदायलाई सहयोग गर्दै आएका युवा नेता गम्बु शेर्पाको परिकल्पनामा खेलकूद प्रतियोगिता आयोजना गर्न लागेका छन् ।

यसमा स्थानीय युवा तथा खेलप्रेमीहरुले पनि महत्वपूर्ण सहयोग गरिरहेका छन् । प्रतियोगितामार्फत जिल्लामै पहिलो ठूलो राशि अंकित रनिङशील्ड राखिएको छ ।

यो एक विशेष आकर्षण हो । विशेष गरी खेल क्षेत्रको प्रतिभाको पहिचानका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको दाबी छ ।

ग्रामिण क्षेत्रमा खेल क्षेत्रमा महिलाहरुको कम उपस्थितीलाई ध्यानमा राख्दै उनीहरुलाई प्रेरणाको रुपमा महिला भलिबल समावेश गरेका छन् ।

केही समय खेलमा रमाउने र खेलमा भविष्य नदेख्दा यात्रा अन्यत्र मोड्ने अवस्थालाई अन्त्य गर्दै खेलकूदमा नै युवाहरुको भविष्य निर्माणका लागि वातावरण बनाउन प्रतियोगिताले अहम भूमिका निर्वाह गर्ने सहसंयोजक धनेश तामाङ बताउँछन् ।

खेल पर्यटनको माध्यमबाट आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा खिजीदेम्बालाई चिनाउने प्रतियोगिताको अर्को महत्वपूर्ण पाटो हो ।

खेल तथा संस्कृतिको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै आफूले समृद्ध खिजीदेम्बाको परिकल्पना गरेको अर्का सहसंयोजक लाक्पा गेल्जे शेर्पाले बताए ।

प्रतियोगितालाई ऐतिहासिक रुपमा सफल बनाउन आयोजकले सबै पक्षलाई आह्वान समेत गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्