पाल्पाकाे निस्दी गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता दिने भएकाे छ ।
११ औं गाउँसभामा आर्थिक वर्ष २०७९/०८० को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गरिएको बताए ।
गाउँपालिकाले ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएकाे छ ।
सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध हुँदै आएकामा गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न लागेको हो ।
गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल सामाजिक सुरक्षाभत्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको र आगामी साउन १ देखि नै भत्ता दिन सुरु गरिने जानकारी दिए ।
उनका अनुसार कार्यविधि निर्माण गरी साउन १ गतेबाटै मासिक एक हजारका दरले भत्ता वितरण गरिनेछ ।
