वंशहत्या र अपराधको जगमा उभिएको नेपालकाे राजतन्त्र

भीम राई

यशोब्रम्ह खाँनका छोराहरु नरहरि शाही र द्रव्य शाही दाजुभाइको बिचमा द्रव्य शाहीको प्रयत्नमा जितेको राज्य गोरखाका राजा को हुने ? भन्नेमा ठुलो झगडा भएपछि आमाले बाध्य भएर चेपे नदीमा दुधको धारा बगाई एक-अर्काले चेपे नदी पार नगर्ने कसम खुवाइन् । दाजुभाइको बिचमा सत्तास्वार्थकै कारण आमाको आसोच समेत नरहरि शाही र द्रव्य शाहीले छुट्टा-छुट्टै बारेको इतिहास छ ।

नरहरि शाहीका छोराहरु पूर्ण शाही र चुडा शाही थिए । द्रव्य शाहीका छोरा पनि पूर्ण शाही, पूर्ण शाहीका दुईवटी श्रीमतीमध्ये दरबारको झगडाका कारणले गोरखा दरबार छाडी धादिङ माइतमा बसिरहेकी कान्छी पट्टिबाट जन्मेका राम शाह गोरखाका राजा बने । नरहरि शाहीका छोरा र द्रव्य शाहीका छोराहरुकाे बिचमा पनि बारम्बार लडाईं चल्यो । राम शाहले आफ्ना बडाबा जमजुङे नरहरि शाहीका वंशहरुलाई लडाईंमा नराम्रोसँग पराजित नगरेसम्म बारम्बार गोरखा र लमजुङको बिचमा लडाईं चलिरह्यो । राम शाहीका छोरा डम्बर शाही र डम्बर शाहीका छोरा पृथ्वीपति शाहीका छोरा वीरभद्र शाही थिए । वीरभद्र शाहीको एकैपटक दुई वटा रानीसँग विवाह भएको थियो । दुइटा रानीमध्ये कान्छी रानी मल्लिकावतीको तर्फबाट नरभुपाल शाहको जन्म भएको थियो । नरभुपाल शाहले चार वटा विवाह गरेका थिए । माहिली रानी कौशल्यवतीको तर्फबाट १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म भएको थियो । पृथ्वीनारायण शाहको ससुरालीबाट कबोल गरेको दाइजो प्राप्त नगरेको भन्ने नाममा मकवानपुरका राजा उनको ससुरालीसँग पनि पृथ्वीनारायण शाहको राम्रो सम्बन्ध कायम हुन सकेन ।

पृथ्वीनारायण शाहका भाइहरु महोद्धम कीर्ति शाह र कान्छा भाइ शुरप्रताप शाह पृथ्वीनारायण शाहसँग बेमेल भएकाे कारण गोरखा राज्यविरोधी भई कास्की पलायन भएका थिए । पृथ्वीनारायण शाहको मृत्यु १८३१ माघ १ गते अप्रत्यासित रुपमा भयो । पृथ्वीनारायण शाहका जेठा छोरा प्रतापसिंह शाहले काका दलजित शाह र बाबुका आसोच बारिरहेका भाइ बहादुर शाहलाई नुवाकोटमा कैद गरिदिए । राजा प्रतापसिंह शाहको २६ वर्षको कलिलो उमेरमा निधन भएपछि रानी राजेन्द्र लक्ष्मीले कुमार युवराज बहादुर शाहलाई धर्मपत्रमा हस्ताक्षर गराई काठमाडौं झिकाइन् ।

तिरहुतबाट शिवरात्रि पर्व मनाउन आएकी विधुवा सुन्दरी कान्तीवतीसँग  राजा रणबहादुर शाहले तेस्रो विवाह गरे । त्यसबेलाको मान्यता अनुसार विधुवा ब्राह्मणी महिलासँग विवाह गर्नु भनेको ठुलो अपराध मानिन्थ्यो ।

बहादुर शाहले काजी सर्वजित रानाको १८३५ भदाै २१ गते हत्या गरी रानी राजेन्द्र लक्ष्मीलाई दरबारमा नजरबन्द गरेपछि सुरु भएको हत्याकाण्डको श्रृंखला राजा वीरेन्द्रको वंशनाशसम्म जारी रह्यो । सत्ता भोगका निम्ति वंश हत्या गर्न पछि नपर्ने नेपालको शाह वंशीय राजवंशको इतिहास पनि विवादित रहेकाे छ ।

काजी वंशराज पाण्डेको हत्या गरी १८४३ असार २२ गते बहादुर शाहलाई फर्पिङमा लगेर नजरबन्द गरियो । बहादुर शाहलाई १८५३ मा हालको हनुमानथाननेर कैद गरियो । भनिन्छ, कैदी अवस्थामा १८५४ असार १४ गते राति उनको हत्या गरी उज्यालो नहुँदै उनको दाह–संस्कार गरियो । तिरहुतबाट शिवरात्रि पर्व मनाउन आएकी विधुवा सुन्दरी कान्तीवतीसँग  राजा रणबहादुर शाहले तेस्रो विवाह गरे । त्यसबेलाको मान्यता अनुसार विधुवा ब्राह्मणी महिलासँग विवाह गर्नु भनेको ठुलो अपराध मानिन्थ्यो ।

उनको मृत्यु क्षयरोगका कारणले भयो । त्यसबेला क्षयरोगको उपचार गर्न सजिलो थिएन । रानीलाई लागेको क्षयरोग निको पार्न नसकेको नाममा राजवैद्य लक्ष्मी नारायण दाहाललाई दिसा खुवाइ चारपाटा मुडी आँखामा सिउँडीको चोप लगाई दक्षिणतिर धपाइयो । दाहाल ब्राह्मण भएको कारणले हत्या चाहिँ गरिएन । मिलहम वैद्यको दबाई बनाउने हातलाई कोलमा पेल्न लगाई उनको हत्या गरियो । रानीको रोग निको नभएको रिसमा रणबहादुर शाहले पशुपतिनाथको मन्दिर समेतलाई तोपले उडाइदिन तयार भएका थिए । रानी बिरामी परेका बेला अनुष्ठान गरिएका देवालयहरुमा रानीको देहान्तपछि मान्छेको दिसा पोत्ने, हम्मरले फोर्ने, भत्काइदिने कामहरु गरिए । गुभाजु र ब्राह्मणहरुलाई वितरण गरिएका दान–दक्षिणा फिर्ता गर्ने, दण्डित गर्ने र अपमानित गर्ने सबै कामहरु गरिए ।

राजा रणबहादुर शाह र छोरा गिर्वाणयुद्ध विक्रम शाहको बिचमा सत्ता हातमा लिने षड्यन्त्रका बिचमा छोराका सेनासँग लड्न नसकेर पुल्चोकदेखि चापागाउँको बाटो भागेर रणबहादुर शाहले देश छोड्नुपर्यो । दामोदर पाण्डेलाई १२ दिनसम्म घाँटीमा घट्टा झुन्डाएर अमानवीय ढंगले हत्या गरियो । दामोदर पाण्डेका जेठा छोरा रणकेशर पाण्डे र माहिला छोरा गजशेर पाण्डेको पनि दामोदर पाण्डेसँगै हत्या गरियो ।

चौतारा बलभद्र शाहलाई यातना दिएर मारियो, उनी निसन्तान थिए । उनको अपुताली खाएर बसेका भाइका छोरा नाबालक कुमारहरु कुलचन्द्र शाह, भीमप्रताप शाह, भीमरुद्र शाहलगायतका नाबालकहरुको आँखा फोडी सम्पत्ति जफत गर्ने काम रणबहादुर शाहकै आदेशमा गरियो । रणबहादुर शाह आफ्नै भाइ शेरबहादुर शाहबाट काटिए । शेरबहादुर शाहलाई रणबहादुर शाहको आदेशमा बालनरसिंह कुँवर र चौतारा बम शाहद्वारा त्यहीं नै काटिए ।

दरबारभित्रका नाजायज सम्बन्धहरुको कारणले कतिपय हत्याकाण्डहरु भएको इतिहासकारहरुले लेखेका पुस्तकहरुमा पढ्न पाइन्छ । राजा राजेन्द्र विक्रम शाह र छोरा सुरेन्द्र विक्रम शाह बाबु–छोराको बिचमा राम्रो सम्बन्ध नभएको कारणले राजा राजेन्द्र विक्रम असुरक्षित भएको महसुस गर्थे । आफ्नो शासन जोगाउनका लागि अंग्रेजहरुको प्रस्ताव अनुसार बारम्बार मन्त्रिमण्डल (तत्कालीन मुख्तियार र काजी) हेरफेर गर्ने काम शाह वंशकै शासनकालबाट सुरु भएको हो ।

माथिका विवरणहरु नेपालको इतिहासमा थोरै चासो राख्ने सबैलाई जानकारी छ । सबै प्रकारका हत्या, अपराध र कुर्कमहरुको जगमा नेपालको राजतन्त्रको विरासत उभिएको छ । राणा शासनको जग पनि शाह परिवारको कमजोरी र षड्यन्त्रको उपज हो । १७ र १८ सय शताब्दीमा युरोपमा औधोगिक क्रान्तिले द्रुत गतिमा विकास गरिरहेको समयमा नेपालको शाह वंशीय शासकहरु वंश हत्या र सत्ता विलासमा लिप्त थिए । दरबारिया बेमेलको दुष्परिणाम नेपाली जनताले १०४ वर्ष लामो जहानियाँ राणा शासन भोग्नु पर्यो । नेपालको शाह वंशीय राजपरिवारमा त्यो शक्ति थिएन, जसको आह्वानमा नेपाली जनता राणा शासनको विरुद्ध संगठित र आन्दोलित बनून् ।

नेपाली कांग्रेसको आह्वानमा भएको आन्दोलनले राणा शासनको अन्त्य र राजतन्त्रको स्थापना भएको भए पनि दशवर्ष नपुग्दै पुनः निरङ्कुश शासन सञ्चालन गरेर पञ्चायती व्यवस्थाको माध्यमबाट नेपाली जनतालाई दमन गर्ने, नेपालको विवेकहीन शाह वंशीय राजतन्त्रले पञ्चायती व्यावस्थामा अनेकौं अपराधिक कर्महरु गरेका प्रमाणहरु प्रशस्त छन् । मुर्ति चोरी, अवैध हतियारको व्यापार, सुमिता-नमिता हत्याकाण्ड, पत्रकार पदम ठकुराठीलाई गोली हानिएको काण्ड, सिन्धुपाल्चोकको पिस्कर हत्याकाण्ड, धनकुटाको छिन्ताङ हत्याकाण्ड जस्ता अनेकौं नरसंहार गरी शासन भोगेको नेपालको राजतन्त्र भरत गुरुङ, डिबी लामा जस्ता पात्रहरुका माध्यमबाट मुर्ति चोरी, सुन तस्करी, कर छली, र पञ्चायती व्यवस्था जोगाउनका लागि तराईको जंगल फडानी, संगीतकार प्रविण गुरुङको हत्या, राजा वीरेन्द्रको वंशनाश, लागु पर्दाथको निर्वाध प्रयोग जसको ज्वलन्त उदाहरण हुन् नेपालको राजतन्त्र ।

यी माथिका विवरणहरु कठोर दमन र निरङ्कुश शासनका बाबजुद सार्वजानिक भएका अपराधका घटनाहरु हुन् । सामान्य अनुमान लगाउन सकिन्छ, सत्ताको बलमा कति घटनाहरु दबाइएका होलान् ? कीर्तिपुरमा युद्धमा सजिलै जित्न नसकेको कारण त्यहाँका नेवारहरुको २० धार्नी नाक-कान काटिएको होस् वा किरातीहरुलाई युद्धमा पराजित गर्न नसकेपछि मित्रताका नाममा गरिएका पाशविक र बर्बर हत्याहरु हुन् । यी घटनाहरु विश्व मानवसमाजका निम्ति शाह वंशीय शासनमा घटेका कहिल्यै नमेटिने अपराधिक घटनाहरु हुन् । भोजपुर घोरेटारको धोकापूर्ण लडाईंपछि गोरखाली सेनाको अमानवीय पाशविक हत्याबाट बच्न कोशीको किनारैकिनार आफ्नो थातथलो छोडेर गएका किराती राईहरुको ठुलो बस्ती अझै पनि भारतको बिहार सुपोल जिल्लाको त्रिवेणीगञ्जमा भेटिन्छ ।

भौगोलिक रुपले अनेकौं अपराधको जगमा नेपालको एकीकरण भए पनि नेपाल एक विविधतायुक्त विशिष्टतामा आधारित बहुल-राष्ट्रिय राज्यको रुपमा एकीकृत हुन अझैसम्म सकेको छैन । शाह वंशीय शासन सुरु भएपछि भिन्नभिन्न भाषिक, धार्मिक, सांस्कृतिक, जातीय र सामुदायिक मान्यता बोकेको नेपाली समाजले विकास गरेका मानव सभ्यताका सामुदायिक मान्यताहरुलाई नै समाप्त पार्ने गरी हाम्रो राजा हाम्रो देश, एउटै भाषा एउटै भेषको एकल जातिवादी नारा र चिन्तनले नेपाली समाजको बहुआयामिक चरित्रलाई समाप्त पार्ने काम गर्यो । भिन्नभिन्न जातीय, भाषिक र सांस्कृतिक समुदायका बिचमा सद्भाव र एकबद्धता होइन, एकरुपता कायम गर्ने शासकीय नस्लवादी चिन्तनको परिणामले नेपाली समाजको एउटा तप्का देश मेरो हो राज्यमा मेरो होइन भन्ने सोच राख्ने तहमसम्म पुग्न बाध्य भयो ।

शाह वंशीय राजतन्त्रको नेतृत्वमा सञ्चालित पञ्चायती व्यवस्थाले विचारमाथि प्रतिबन्ध लगायो र इतर विचार राख्नेहरुमाथि कठोर दमन गर्यो । सबै प्रकारका घटनाहरुलाई शासकीय मान्यताबाट बुझ्नुपर्ने र सोच्नुपर्ने बाध्यताबाट नेपाली जनताको आलोचनात्मक चेतलाई नै बन्धक बनाउने काम गरियो ।

प्राकृतिक रुपले पनि मानव समाज एउटै भाषा, एउटै भेष हुनै सक्दैन भन्ने सामान्य चेत समेत नभएका पञ्चहरुले हिमालका बासिन्दा र मधेसका बासिन्दाहरुको बिचमा भएका प्राकृतिक भिन्नताहरुको भेद नै छुट्याउन सकेनन् । मधेसको मानिसले जस्तै सगरमाथाको फेदमा बस्नेले धोती र कमिज मात्रैले जाडो काट्न सकिन्न वा मधेसको प्रचण्ड गर्मीमा सगरमाथाको फेदमा बस्नेले जस्तै बक्खु लगाएर बस्न सम्भव हुँदैन भन्ने प्रकृतिका विशिष्ट भिन्नताहरुलाई बुझ्नै सकेनन् । सबै विषयहरुलाई पञ्चायती शासकीय मान्यता र हिन्दु धर्मको आँखाबाट मात्रै हेर्दा नेपाली समाजको ठुलो हिस्सा स्वाभाविक प्रगतिको सरल रेखाबाट पनि नकारात्मक सुचकाङ्कको तस्बिर बोकेर बस्न बाध्य भयो ।

मूर्ति चोर्दै गरेको सप्रमाण समाचार लेखेबापत पत्रकार पदम ठकुराठीलाई गोली हान्ने को हुन् ?

२०४६ सालको आन्दोलनपछि नेपालको सिमान्तकृत समुदायले नागरिक हुनुको महत्व आंशिक रुपमा बुझ्न थालेका छन् । विचारको पक्षधरता र शासक छनोटको सुबिधा प्रयोग गर्न थालेका छन् । त्यहीं सुबिधाको प्रयोग गरेर नै गणतान्त्रिक संसदभित्र राजेन्द्र लिङ्देनहरु राजतन्त्र फर्काउने विचारको नेतृत्व गर्न पाइरहेका छन् । संसदको रोस्टममा उभिएर ज्ञानबहादुर शाहीहरु सिटिङ प्रधानमन्त्रीको अगाडि प्रधानमन्त्रीलाई नै दोषी करार गरी जेल हाल्नुपर्छ भन्ने छुट प्राप्त गरिरहेका छन् । राजेन्द्र लिङ्देन र ज्ञानबहादुर शाहीहरुलाई शाह वंशका अपराधपूर्ण इतिहासको ज्ञान नहुन सक्छ, यसको अर्थ सबै नेपाली जनता राजतन्त्रका अपराधहरुको ज्ञान राख्दैनन् त ?

आजभन्दा २५०० वर्ष अगाडि विश्वलाई नै प्रभावित पार्ने विचारको जन्मदाता गौतम बुद्धको जन्म भएको पावन भूमिमा आधुनिक चिन्तन र विचारको खडेरी लाग्नुको मुख्य कारण विचारमाथिको प्रतिबन्ध हो कि होइन ? आन्सर मि ज्ञानबहादुर शाही ! भन्न कर लागेको छ । छलकपटपूर्ण युद्धबाट स्वविजयको घोषण गरेको शाह वंशको नृशंस मानव समुदायको संहारबाट बच्न आफ्नो थातथलो छोडेर सप्तकोशीको किनारैकिनार हेलिएर त्रिवेणीगञ्जमा मानव समुदायको रक्षा खातिर विदेशिन बाध्य पार्ने अपराधी को हुन् ? सजिलैसँग कीर्तिपुरमा लडाईं जित्न नसकेका कारण त्यहाँका नेवारहरुको नाक-कान काटेर पाशविक राक्षस प्रवृत्ति प्रर्दशन गर्ने को हुन् ? मूर्ति चोर्दै गरेको सप्रमाण समाचार लेखेबापत पत्रकार पदम ठकुराठीलाई गोली हान्ने को हुन् ? धनकुटाको छिन्ताङमा बिनाकारण सयौं किसानको हत्या गर्ने को हुन् ? सिन्धुपाल्चोकको पिस्करमा थामी समुदायमाथि निर्मम ढंगले बुलडोजर चलाएर हत्याकाण्ड मच्चाउने को हुन् ? पोखरामा नमिता र सुमिता दिदीबहिनीको पाशविक हत्या गर्ने को हुन् ? डिबी लामा र भरत गुरुङजस्ताहरुको प्रयोग गरेर सुन तस्करी गर्ने को हुन् ? संगीतकार प्रविण गुरुङको हत्यारा को हो ? लागु औषध प्रयोग गरेर दिनदहाडै सार्वजानिक ठाउँमा आतंक मच्चाउने पारस शाह कसका सन्तान हुन् ? मादक पर्दाथ र लागु पर्दाथ सेवन गरेर राजा वीरेन्द्रको वंशनाश गर्ने कुन राजनीतिक दल हो ? सत्ता हातमा लिने बित्तिकै मोबाइल फोन र साइबरहरु बन्द गरी मुलुकलाई जंगली समाजतिर धकेल्ने को हो ? पत्र-पत्रिकामा सेन्सरसिप लागु गरेर सही सूचनाबाट जनतालाई बञ्चित गराउने शासक को हुन् ?

माथिका सबै तथ्यमा आधारित अपराधहरुमा प्रत्यक्ष संलग्न राजतन्त्र फर्काएर त्यसको आडमा पुनः अपराधहरुको श्रृंखला दोहोर्याउने सपना देख्ने छुट पनि त गणतान्त्रिक व्यवस्थामै पाएका छौं राजेन्द्र लिङ्देन र ज्ञानबहादुर शाही ! आन्सर मि ! भन्न नेपाली जनतालाई बाध्य नपारियोस् ।

(भीम राई जनता समाजवादी पार्टी, नेपालका राजनीतिक समिति सदस्य हुन् ।)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

2 COMMENTS

  1. गहन अध्यन नेताज्यु येस्तो राजनीतिज्ञ घटना बिचार लेखिरहनुहोस। धन्नेबाद

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्