स्याबास राजेन्द्र महतो

उपप्रधानमन्त्रीको कुर्सीमा बस्दै गर्दा राजेन्द्र महतोले ‘नेपाल एक बहुल राष्ट्रिय राज्य हो…’ भन्नुभएछ । जुन विषय आफूलाई बुद्धिजीवी ठान्नेहरुको लागि मसला बन्यो । दुलोबाट छिचिमिरा निस्किएझैं भुरुरु निस्किए विरोधका स्वरहरु ।

सत्ताको शक्ति गजब हुँदो रहेछ । वर्षौदेखि केहीले कोसिस गर्दासमेत बुझाउन कठिन भइइरहेको ‘बहुराष्ट्रिय राज्य’को अर्थ एकै चुट्कीमा मन्त्रीको कुर्सीबाट राजेन्द्र महतोले छर्लङ्ग पारिदिए । अहिले यस विषयमा बहस जारी छ । जय होस् कुर्सी, स्याबास राजेन्द्र महतो ।

टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाइन र सामाजिक सञ्जालहरुमा राजेन्द्र महतो छाइरहेका छन् । यसै विषयमा एउटा टेलिभिजन कार्यक्रममा दुईजना अन्तरक्रिया गर्दैथिए । घम्साघम्सी पर्दै थियो । ‘बहुल राष्ट्रिय राज्य बनाउनु भनेको देश विखण्डन गर्नु होे ।’ तिनले आक्रोश बढी आधार कम थियो । अर्का भन्दै थिए, ‘राष्ट्र र राज्य दुई अलग कुराहरु हुन् ।’ तिनको तर्कमा सत्यताका केही आधार थिए । टेलिभिजनमा उनीहरुको वाकयुद्ध करिब पौने घण्टा चल्यो । तर एक अर्काको तर्कसँग दुवै सहमत भएनन् ।

कानुनको विद्यार्थी भएको नाताले मैले सामान्यतया बुझेको कुरा भनेको संविधानको धारा ३ ले नेपाली जनतालाई राष्ट्र भनेको छ । अर्थात जनता नै राष्ट्र हो । नेपाली जनता (राष्ट्र) एउटै जाति, एउटै भाषा, एउटै धार्मिक एवम् सांस्कृतिक सम्प्रदायको मात्र छैनौं । यहाँ त विभिन्न जातजाति, भाषाभाषी, धार्मिक एवम् सांस्कृतिक सम्प्रदायहरुको बसोबास रहेको छ । यी विभिन्न सम्प्रदायका नेपाली जनता (राष्ट्र)हरुको पहिचानसहितको राज्यको लागि नेपालको संविधानको धारा ३ ले यो व्यवस्था गरेको हो ।

सामान्यतया सुन्दा उस्तैउस्तै लागे पनि राष्ट्र र राज्य एउटै होइन । यी दुईको अर्थमा धेरै अन्तर छ । समाजमा जात, जाति, भाषा, धर्म, संस्कृति आदिमा भिन्नता भए अलगअलग जनता (राष्ट्र) हुने हो । राष्ट्रको लागि कुनै देशको भूगोलले छेक्दैन । जस्तो नेपाली भाषीहरु भारत, भुटान, बर्मा लगायत ठाउँहरुमा रहनु । तर राज्यको लागि निश्चित भूगोल (क्षेत्र), जनसंख्या, सरकार, छुटै सार्वभौमसत्ता लगायत आवश्यक हुन्छ । अतः आफूलाई बुद्धिजीवी भन्नेहरु केहीले विभिन्न सञ्चारमाध्यमहरुद्वारा मान्छेलाई उल्टो दिग्भ्रमित पार्न फगत समय खर्चदैछन् ।

एकपटक केपी ओलीले बुद्धिजीवीलाई गिज्याउँदै भनेका थिए, ‘मुसाले दाँत लामो भएपछि छोट्याउन कोट काट्छ, कोट खानलाई होइन ।’ संयोग यस प्रसङ्गमा मेल खान पुगेको छ । सम्राट नाङ्गै हुँदासमेत हजुरको वस्त्र अद्भूत सुन्दर छ भन्ने खालको अन्धोभक्त चाकरी विद्वान चाहिने ओलीलाई कसले चित्त दुखायो कुन्नि, उबेला ओलीको मुखबाट त्यो टुक्का फुरेको थियो । आज बहुराष्ट्रिय राज्यको दुलोबाट राजेन्द्र महतोको कोट काट्न सलबलाएका मुसाहरु बालुवाटारसम्म छिर्दैछन् । अब ओलीको राष्ट्रवादको कोट पनि दुलो पर्दैछ । हेर्न बाँकी छ कि मुसाहरुले दाँत मात्र छोट्याउछन् वा ओलीको राष्ट्रवादी कोट नै खान्छन् । जे होस् तिम्रो राजनैतिक अदूरदर्शिता, विवादास्पद छबि, प्रतिगामी क्रियाकलापका कारण अन्तरआत्माले तिमीलाई दुत्कारी रहे पनि ओलीका मुसाहरुलाई बालुवाटारको गेट छिराइदिएकोमा फेरि पनि स्याबास राजेन्द्र महतो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्