जनता समाजवादी पार्टी डा. बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंको जडिबुटीस्थित रोयल जडिबुटी ब्याङ्क्वेटमा हुने भएको छ ।

बैठक भोलि असार २८ गते ११ बजे सुरु हुनेछ ।

दुई दिनसम्म चल्ने बैठकमा सहभागी हुनका लागि भट्टराई पक्षका नेता गंगा श्रेष्ठले केन्द्रीय सदस्य, संघीय परिषद् सदस्य, केन्द्रीय निकाय (सल्लाहकार, विज्ञ, अनुशासन, निर्वाचन र लेखा परीक्षण आयोग)का पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय विभागका अध्यक्ष र सचिवहरु, प्रदेश समितिका पदाधिकारीहरु, राष्ट्रिय समितिका पदाधिकारीहरु, जनवर्गीय संगठनका अध्यक्षहरु र जिल्ला समन्वय समितिका अध्यक्षहरुलाई सूचित गरेका छन् ।

यता जसपाका उपेन्द्र यादव पक्षको बैठक पर्साको वीरगञ्जमा २९ र ३० गते हुँदैछ ।

पार्टीका करिब ८० प्रतिशत नेता तथा कार्यकर्ताहरु संस्थापन (उपेन्द्र यादव) पक्षको बैठकमा सहभागी हुने अनुमान गरिएको छ ।

डा. भट्टराई र यादवबीचको विवादले जसपा फुटको अवस्थामा पुगेको हो ।

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसद इस्तियाक राई, सांसद प्रदीप यादव पहिले भट्टराईको पक्षमा रहे पनि मन्त्री बन्ने भएपछि यादव पक्षमा खुलेका छन् ।

जसपाका अर्का केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसद महेन्द्र राय यादव पनि भट्टराई पक्षमा रहे पनि अन्तिम घडीमा उनी संस्थापनको बैठकमा सहभागी हुन सक्ने जनाइएको छ ।