वन तथा वातावरणमन्त्री प्रदीप यादवले सन्तुलित विकासको मोडल अपनाउनु पर्नेमा जोड दिएका छन् ।
शुक्रबार वन मन्त्रालयले काठमाडौँमा आयोजना गरेको अन्तराष्ट्रिय दिगो पर्वतीय वर्ष-२०२२ कार्यक्रम अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुसँगको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले वन जङ्गल र वन्यजन्तुलाई संरक्षण गर्दै पूर्वाधार विकास निर्माणको कामलाई अगाडि बढाउनुपर्ने बताए ।
मन्त्री यादवले सडक र पूर्वाधार निर्माणको आफू बाधक नभएको र वन मन्त्रालयलाई आवश्यक विकासको काममा बाधा पुर्याउने काम कहिल्यै नगर्ने विश्वास व्यक्त गरे ।
‘विकास जरुरी छ तर वन जङ्गल पनि उतिकै आवश्यक छन् । हामीले दुवैलाई सन्तुलित राख्नुपर्छ,’ उनले भने, ‘म विकासको बाधक होइन, सडक र पूर्वाधार निर्माणमा गर्न वन मन्त्रालय कहिले पनि बाधक बन्दैन । सडक बन्न दिन्छु तर जङ्गल पनि मास्न दिन्न । सन्तुलन मिलाएर काम गर्दा वन मन्त्रालयको अवरोध हुँदैन ।’
उनले नेपालको ८० प्रतिशतभन्दा बढी भूभाग पहाडले ढाकिएको र बाँकी भागसमेत पर्वतीय प्रणालीसँग जोडिएको कारण पर्वतीय क्षेत्रको समस्या सम्पूर्ण नेपालको समस्या भएको बताए ।
अन्य देशमा गरिएका गतिविधिले भइरहेको जलवायु परिवर्तनको सिधा असर नेपालमा परेको कारण अन्तराष्ट्रिय समुदायले नेपालको पर्वतीय समस्या समाधानका लागि आवश्यक सहयोग गर्नुपर्ने बताए ।
यादवले अन्तराष्ट्रिय दिगो पर्वतीय वर्ष-२०२२ कार्यक्रमअन्तर्गत नेपालले यसवर्ष विभिन्न थप कार्यक्रमहरु आयोजना गरेर पर्वतीय मुद्दाको प्रचार प्रसार गर्नुका साथै अन्तराष्ट्रिय मञ्चहरुमा नेतृत्व लिन आगामी सेप्टेम्बरमा अमेरिकाक कोलोराडोमा हुने पर्वतीय साझेदारी विश्वव्यापी बैठक तथा जववायू परिवर्तन सम्बन्धी इजिप्टमा हुने सम्मेलनमा समेत नेपालको मुद्दालाई उठाउने बताए ।
‘जलवायु परिवर्तनले पर्वतीय अर्थतन्त्र, जैविक विविधता, संस्कृति, जलवायू परिवर्तन, पर्वत(समथर अन्तरसम्वन्ध जस्ता विषयमा पारेका प्रभाव र त्यसको उचित सम्वोधनका लागि नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा लिनुपर्ने आदानका बारेमा हामीले राष्ट्रिय सहमति कायम गर्नुपर्ने छ । त्यसका साथै अन्तराष्ट्रिय मञ्चहरुमा पनि यी विषयहरुलाई मैले जोरदार ढङ्गले उठान गर्ने छु’ उनले भने ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जलवायु परिवर्तनको विषयमा नीति निर्माण गर्नेहरुले गम्भीरतापूर्वक लाग्नुपर्ने बताए ।
नेपाल ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआइ) को सदस्य बनेको बताउँदै सभामुख सापकोटाले आफू यस्तो संस्थाको सदस्य राष्ट्र नेपाल पनि बनेकोमा खुसी लागेको बताए ।
कार्यक्रममा उपसभामुख पुष्पा भुसाल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णा कुमारी, प्रतिनिधिसभा सदस्यहरुहरुले आफ्नो मन्तव्य राखेका थिए ।
वन तथा वातावरण मन्त्रालयका सचीव डा. प्रेम नारायण कँडेलले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

