व्यक्तिगत दम्भ र निजी महत्वको विषयले बाबुराम पलायन हुनुभो : अध्यक्ष राई

जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष अशोक राईले पार्टीबाट डा. बाबुराम भट्टराईको बहिर्गमनको कारण ‘जुँगाको लडाइँ’ नै भएको बताएका छन् ।

आइतबार काठमाडौंमा पार्टीको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा अध्यक्ष राईले डा. भट्टराई निजी महत्वको विषयलाई लिएर पार्टीबाट पलायन भएको बताए ।

उनले भट्टराई बहिर्गमनको कारण सैद्धान्तिक वैचारिक विवाद नभएको प्रष्ट पारे । तर राजनीतिमा जुँगाको लडाइँको खासै महत्व नहुने उनले बताए ।

उनले भने, ‘उहाँहरुको बहिर्गमन जुँगाको लडाइँ मात्रै हो । किनकी, त्यहाँ विचारको लडाइँ, सिद्धान्तको लडाइँ केही पनि थिएन ।’

नेताको कार्यशैली, दम्भ र निजी विषयलाई लिएर पार्टी नै छोड्नु डा. भट्टराईको गैरजिम्मेवारीपन रहेको उनको भनाइ छ ।

सो क्रममा उनले जसपाको विधानमा ‘एक व्यक्ति एक पद’ रहने व्यवस्था रहेको भन्दै साच्चै पार्टी निर्माणमा लाग्ने हो भने केन्द्रीय सदस्यको पद छोडेर प्रदेश र स्थानीय तहको समितिमा बस्न केन्द्रीय सदस्यहरुलाई आग्रह पनि गरे ।

पार्टीका नेताहरुमा प्रदेश समितिको पद छोडेर केन्द्रीय समितिमा बस्ने आकांक्षा बढेर गएको भन्दै उनले केन्द्रीय समिति कार्यकारी नभएको, बरु प्रदेश र स्थानीय समितिहरु नै कार्यकारी र शक्तिशाली भएको बताए ।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले पार्टी समितिको नेतृत्व चयन गर्दा भूगोलमै बस्नेहरुलाई अघि बढाए संगठन निर्माणमा सहज हुने बताए ।

उनले पार्टीभित्र सबै कुराको व्यवस्थापन गरेर अघि बढ्न सके शक्तिशाली पार्टी बन्ने बताए ।

नुच्छेलाल महर्जनको अध्यक्षतामा आयोजित भेलामा पार्टीको बागमती प्रदेश समितिका उपाध्यक्ष विद्युत बज्रचार्यले स्वागत भाषण गरेका थिए भने सहइन्चार्ज लालबहादुर तामाङले प्रदेश समिति पुनर्गठन गर्नुपर्ने भएकोले सोको तयारी अनुरुप भेलाको आयोजना गरिएको बताए ।

भेलामा जसपाका केन्द्रीय सदस्य आङदेन्डी शेर्पा, सोनी लामा, तारासिंह विश्वकर्मा, सन्तोष सिलवाल, योगराज लिम्बूलगायत नेताहरुको उपस्थिति थियो ।

जसमा बागमती प्रदेश भूगोल रहेका पार्टीका संघीय परिषद् सदस्यहरु र नेवा र ताम्सालिङ राष्ट्रिय समितिका पदाधिकारी तथा सदस्यहरुलाई विशेषगरी सहभागी गराइएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्