सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पाँच दिने जापान भ्रमण गरी बुधबार स्वदेश फर्कनुभएको छ । भ्रमणले नेपाल र जापानबीच सहकार्यको नयाँ शुरुवात भएको उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा दिउँसो पत्रकार सम्मेलमा अध्यक्ष दाहालले भ्रमणका क्रममा जापानको आधुनिक कृषि प्रणाली,  पर्यटन, शिक्षा र भौतिक पूर्बाधार विकासका सम्बन्धमा अध्ययन एवम् अवलोकन गरिएको बताउनुभयो ।

जापानका सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताहरुसँग विभिन्न विषयमा राम्रो वातावरणले विचार आदानप्रदान र सहयोग अभिवृद्धि गर्ने छलफल भएको उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “जापानको विकास र प्रगति, लगानी पनि बढोस् । हाइड्रो, पर्यटन, कृषि, शिक्षा, भौतिक पूर्वाधार विकास सम्बन्धमा राम्रो वातावरणमा विचार र सहयोग आदानप्रदान अभिवृद्धि गर्ने कुरा भयो ।”