नेपाली कांग्रेसका प्रभावशाली नेता दीपक यादव (टुटुबाबु)काे नेतृत्वमा करिब ७०० जना नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।

हिजो सप्तरीकाे महादेवा गाउँपालिकामा आयोजित कार्यक्रममा यादवसहित माओवादी केन्द्रका राजनारायण साहलगायत नेता तथा कार्यकर्ताहरुलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले खादा तथा माला लगाएर पार्टी स्वागत गरेका हुन् ।

दीपक यादव स्थानीय तहको निर्वाचनमा महादेवा गाउँपालिकाकाे अध्यक्ष पदका उम्मेदवार थिए ।

पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रवक्ता मनिस सुमन, राजनीतिक समिति सदस्य तथा मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र यादव लगायतका नेताहरुको उपस्थिति थियो ।

निर्वाचन नजिकिएसँगै पार्टी प्रवेशले तीव्रता पाएको पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताए ।