गत मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले मंगलबारदेखि निर्वाचन क्षेत्रका मतदाता, पार्टीका नेता तथा कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन कार्यक्रम थालेका छन् ।
धन्यवाद ज्ञापन कार्यक्रम मंसिर १९ गतेसम्म चल्नेछ । धन्यवाद ज्ञापनका लागि जनताको बिचमा जान संयुक्त निर्वाचन परिचालन कमिटीले कार्यक्रम तय गरेको छ ।
सुनसरी–१ मा जसपा र एमाले दुवै पार्टीका निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदहरुले एकसाथ मतदाता, पार्टीका नेता तथा कार्यकर्ता र समर्थकहरुलाई धन्यवाद दिने भएका हुन् ।
मंगलबार जसपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री अशोक राईका साथै एमालेबाट प्रदेशसभा १ बाट निर्वाचित रमेशकुमार बस्नेत र प्रदेशसभा २ बाट निर्वाचित विजयकुमार राई संयुक्त रुपमा मतदाताको बिचमा पुगेका थिए ।
उनीहरुका साथमा जसपाकी केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवार सुशीला श्रेष्ठ, एमालेका प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार मोती सुनुवार र लहरुमाया जिमीका साथै दुवै दलका नेता तथा कार्यकर्ताहरु पनि थिए ।
निर्वाचनमा जसपा र एमालेले तालमेल गरी निर्वाचन लडेका हुन् । सुनसरी–१ मा तालमेलका तीनजनै प्रत्यक्ष उम्मेदवार विजयी भएका छन् ।