Wednesday, February 8, 2023
11.8 C
Diktel

सुनसरी–१ बाट निर्वाचित सांसदहरुलाई फेटा लगाएर सम्मान

सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुलाई धरानमा सम्मान गरिएको छ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राई, प्रदेशसभा सदस्य तथा नेकपा एमाले प्रदेश १ कमिटी सदस्य रमेश बस्नेत र विजय राईलाई नेपाल गुम्बा बौद्ध सेवा समितिले मंगलबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँगै जोडिएको गुम्बा परिसरमै एक कार्यक्रमको आयोजना गरी टाउकोमा सेतो फेटा लगाइदिएर सम्मान गरेको हो ।

सो क्रममा उनीहरुले २०४२ सालमै गुम्बा स्थापना गरेको भए पनि हालसम्म समितिको नाममा गुम्बाको जग्गा भोगाधिकार पाउन नसकेकोले सोका लागि पहल गर्न आग्रह गरे । उनीहरुले गुम्बाको भवन निर्माण कार्यमा पनि सहयोगको अपेक्षा गरे ।

पूर्वमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य अशोक राईले गुम्बाको नाममा जग्गाको भोगाधिकार पाउने प्रक्रिया लामो रहेको बताए ।

उनले प्रधानमन्त्री र संस्कृतिमन्त्री सकारात्मक रहेको अवस्थामा गुम्बाको नाममा जग्गा दिन सकिने भन्दै सोका लागि आफूहरुले पहल गर्ने प्रतिवद्धता जनाए ।

प्रदेशसभा सदस्य रमेश बस्नेतले पनि समितिको नाममा जग्गाको भोगाधिकार स्थापित गर्ने लगायत कुनै पनि कार्यमा आफूहरुले कुनै कसुर बाँकी नराखी पहल गर्ने बताए ।

उनले धरानको जनताको शिर उचो हुने गरी काम गर्ने घोषणा समेत गरे ।

अर्का प्रदेशसभा सदस्य विजय राईले सुनसरी–१ को विकासका लागि आफूहरु सधै एक भएर काम गर्ने प्रतिबद्धता जनाए ।

उनले जनताले भनेका सबै काम गर्न नसके पनि इमान्दारितापूर्वक काम गर्ने बताए ।

बधाई तथा सम्मान कार्यक्रम बकसमान गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा खम्बसिंह गुरुङले धरानका गुरुङ समुदाय र गुम्बाको तर्फबाट सांसदहरुलाई बधाई दिँदै आफूहरुको समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रतिनिधिसभाका लागि समानुपातिक तर्फको उम्मेदवार सुशीला श्रेष्ठ, नेकपा एमाले धरान नगरका अध्यक्ष हर्कजङ एभेङ, जसपा निकट समाजवादी युवा संघ धरान नगरका सचिव अरुण गुरुङ लगायतका नेताहरु पनि सहभागी भएका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्