काठमाडौं । जनता समाजवादी पार्टी तत्काल सरकारमा नजाने भएको छ । जसपा संसदीय दलको बुधबार बसेको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।
जसपाका राजनीतिक समिति सदस्य तथा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सभामुखको निर्वाचनबारे भने भोलि (बिहीबार) नै टुंगो लगाइने छ ।
बिहीबार ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख चयन गरिनेछ ।
जसका लागि सत्तारुढ एमाले–माओवादी–रास्वपा–राप्रपा गठबन्धनबाट एमाले नेता देवराज घिमिरेलाई उम्मेदवार बनाइएको छ ।
यता नेपाली कांग्रेसले भने ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
मतदानबाट सत्ता गठबन्धनको उम्मेदवार जित्ने निश्चित भए पनि जसपाले कसलाई मतदान गर्ने भन्ने निर्णय गर्न बाँकी छ ।
प्रमुख सत्तारुढ दल एमाले र माओवादीले जसपालाई दुई वटा मन्त्रालय दिने भनेका थिए ।
तर जसपाले उपराष्ट्रपतिमा पनि आफूले पाउनुपर्ने माग राखेको थियो । जसमा माओवादी तयार देखिएको छैन ।