गणतन्त्र र संघीयतामा पनि पहिचान माग्नेहरुको हत्या गर्ने शृङ्खला रोकिएन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले गणतन्त्र र संघीयतामा पनि पहिचान र अधिकार माग्नेहरुको हत्या गर्ने शृङ्खला नरोकिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा नेता राईले पदम कुमार लिम्बू (लाजेहाङ लिम्बू)प्रति श्रद्धाञ्जली व्यक्त गर्दै गणतन्त्र र संघीयतामा पनि पहिचान माग्ने आन्दोलनकारीहरुको हत्या गर्ने शृङ्खला नरोकिएको बताएका हुन् ।

संविधान जारी गर्ने बेला मधेस आन्दोलन हुँदा अधिकार र पहिचान माग्ने ५९ जना नेपाली नागरिकहरुको हत्या गरिएको स्मरण गर्दै नेता राईले त्यो शृङ्खला अहिले पनि जारी रहेको बताए ।

‘यस किसिमका दुःखद् घटनाहरुको अन्त्य कहीँ पनि भइरहेको छैन । संविधान जारी गर्ने सिलसिलामा भएको मधेस आन्दोलनमा ५९ जना सहिद भएका थिए,’ उनले भने, ‘हामीले लोकतान्त्रिक परिपाटी स्थापना गरेका छौं, संघीयता स्थापना गरेका छौं, लोकतन्त्रको सर्वोच्च रुप गणतन्त्र स्थापित गरेका छौं । तर यही गणतन्त्रभित्र, यहीँ लोकतन्त्र र संघीयताभित्र पहिचान माग्ने आन्दोलनकारीहरुको ज्यान लिने शृङ्खलाको एउटा कडी फेरि थपिन गएको अत्यन्तै दुःखद् छ, निन्दनीय छ ।’

उनले यस किसिमको परिस्थितिलाई रोक्न सरकारसँग आग्रह गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्