ओखलढुंगा प्रवेश गरे मुख्यमन्त्री कार्कीलाई प्रतिकार गरिने

पहिचानवादी आन्दोलनकारीहरुले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ओखलढुंगा प्रवेश गरेमा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सोमबार एक विज्ञप्ति जारी गरी मुख्यमन्त्री कार्कीसहित कांग्रेस नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापा र सोही दलका प्रदेश सांसद प्रदीपकुमार सुनुवार ओखलढुंगा प्रवेश गर्न लागेकाे सूचना प्राप्त भएकाे भन्दै प्रवेश गरेकाे खण्डमा प्रतिकार गर्ने चेतावनी दिएको हो ।

नेपाली कांग्रेसले मंगलबार ओखलढुंगामा पार्टी कार्यालय उद्घाटन लगायत कार्यक्रम राखेको छ । जसमा मुख्यमन्त्रीसहितका कांग्रेस नेताहरु सहभागी हुने बताइएको छ ।

संघर्ष समितिमा आबद्ध जनता समाजवादी पार्टीका प्रदेश समिति सदस्य समेत रहेका ओखलढुंगाका नेता धिरेन्द्र रुम्दालीले मुख्यमन्त्री कार्की, पूर्वमुख्यमन्त्री थापा र प्रदेश सांसद सुनुवार पहिचानविरोधी साबित भइसकेकोले उनीहरुलाई प्रतिकार गरिने बताए ।

विगतमा पूर्वमुख्यमन्त्री थापासहित कांग्रेसका १४ वटै जिल्ला सभापतिहरुले कोशी प्रदेश नाम खारेजी आन्दोलनप्रति गम्भिरता देखाउँदै विकल्प निकाल्ने भन्दै विज्ञप्ति जारी गरेको भए पनि उनीहरुकाे पछिल्लो गतिविधि पहिचानविरोधी भएको रुम्दालीकाे भनाइ छ ।

संघर्ष समितिले कोशी प्रदेश नाममा मतदान गर्ने ८२ जना सांसदहरु सहभागी हुने कार्यक्रममा प्रतिरोध गर्ने घोषणा पहिल्यै गरेको थियो ।

ओखलढुंगामा यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीलाई पहिचानवादीहरुले लखेटेका थिए ।

सो क्रममा उनीहरुले कार्की सवार सरकारी गाडीकाे झन्डा समेत खाेसेर फ्याकिदिएका थिए । बाक्लो संख्यामा खटिएको प्रहरीहरुले उनलाई बचाएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्