प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किरातले नेकपा एमालेले पहिचानको आन्दोलनलाई निस्तेज पार्ने उद्देश्यले नै झुलाघाट-चिवाभन्ज्याङ यात्रा कार्यक्रम ल्याएको बताएका छन् ।
हाल पूर्वी नेपालमा पहिचानको आन्दोलन चर्किरहेकोले त्यसलाई निस्तेज पार्नका लागि एमाले अध्यक्ष केपी ओलीले झुलाघाट-चिवाभन्ज्याङ यात्राको योजना बनाएको उनकाे भनाइ छ ।
एमालेले केही दिनअघि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म समृद्धिको संकल्प यात्रा कार्यक्रम सुरु गरेको थियो ।
एमालेले समृद्धिको नारा दिए पनि पहिचानको आन्दोलनलाई निस्तेज पार्न झुलाघाट-चिवाभन्ज्याङ यात्रा ल्याएकोले त्यसविरुद्ध आफूहरुले घुर्मी-चिवाभन्ज्याङ पहिचानवादी जागरण-२०८० ल्याएको संयोजक किरातले बताए ।
संघर्ष समितिले एमालेको कार्यक्रमलाई लक्षित गरी आगामी मंसिर २६ गतेदेखि मध्यपहाडी लोकमार्गअन्तर्गत उदयपुरको घुर्मीदेखि पाँथचरको चिवाभन्ज्याङ सडक अनिश्चितकालका लागि बन्दको घोषणा गरेको छ ।
जसका कारण पहिचान पक्षधर र एमाले कार्यकर्ताहरुको बिचमा झडप हुन सक्ने अवस्था सिर्जना भएको छ ।
संघर्ष समिति खोटाङले शुक्रबार दिक्तेलमा पत्रकार सम्मेलन गरी सबैखालका विभेदहरुको अन्त्य गरी पहिचान र सहअस्तित्व कायम गर्नका लागि आन्दोलन गरिएकोले सहयोग गर्न अपिल गरेको छ ।
प्रदेश नं १ को नाम कोशी प्रदेश राखिएपछि नै संघर्ष समितिले कोशी नाम खारेज गरी पहिचानको आधारमा राख्न माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।