प्रकाश ज्वाला, भाैतिक पूर्वाधार तथा यातायात मन्त्री
बालकुमारीको कान्तिपुर गार्डेन्समा हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको सातौं बैठक पुस ११ गतेदेखि चलिरहेको थियो । घटना हुँदा बैठकले दोस्रो दिन पार गरिसकेको थियो । म प्रत्येक दिन बैठकमा विहानैदेखि उपस्थित हुने गरेको थिएँ ।
१३ गते पनि म विहानै बैठकमा गएँ । तर, दिउँसो मन्त्रालयमा अर्को बैठक थियो । सिंहदरबारमा मन्त्रालयको बैठक सकेर फेरि पार्टीको बैठकमा फर्किने गरी म कान्तिपुर गार्डेन्सबाट निस्केँ । बाहिर निस्किनु भन्दा अगाडि बालकुमारी क्षेत्रमा के अवस्था छ ? परिस्थिति र रुटको अवस्था मलाई केही पनि थाहा थिएन । आन्दोलन पूर्वनिर्धारित पनि थिएन, आकस्मिक रहेछ ।
बाहिर मूल सडकसम्म आइपुग्दा सुरक्षाकर्मी, सुरक्षा निकायबाट जान मिल्ने, नमिल्नेबारे केही पनि जानकारी दिइएको छैन । हामी सामान्य रुपमा बाहिर निस्कियौँ । केही गाडी चलेका पनि थिए । अलि अगाडि बढेपछि केही डिस्टर्व भएको महसुस गर्याैँ र एकैछिनमा हाम्रो गाडीलाई प्रदर्शनकारी साथीहरुले रोके । मसँगै रहेका सुरक्षाकर्मी (पिएसओ)ले उनीहरुलाई सम्झाउने प्रयास पनि गरे । केही आन्दोलनमा सहभागी साथीले गाडी जान दिऔँसम्म भने । तर, गाडी जान दिएनन्, म त्यहीँ झरे र फेरि बैठकस्थलतिर लागेँ ।
त्यसपछिको घटनाबारे जानकारी मलाई भएन । बैठकस्थलमा पसेपछि गाडीमा आगजनी भएछ, गोली चलेछ । गोली आगजनी भन्दा पहिले चल्यो कि पछि ? त्यो छानविनपछि थाहा होला । मेरो निजी सुरक्षा सहयोगी (पिएसओ)ले सबैतिर खबर गर्दा पनि प्रहरी समयमा नपुगेको र गाडीमा आगजनी भएको जानकारी मैले पछि मात्रै पाएँ । २२ मिनेटसम्म पनि प्रहरी नपुगेपछि गाडीमा आगजनी भएछ ।
हामी निस्किँदा पिएसओले आफ्नो निकायमा बालकुमारीबाट सिंहदरवार जाँदैछौ भन्ने जानकारी गराएका थिए । त्यो बेला बालकुमारी क्षेत्र डिस्टर्व छ, अर्काे रुट प्रयोग गरौँ भन्ने जानकारी आएन । डिस्टर्व छ भन्ने थाहा हुँदाहुँदै मुर्खतापूर्णरुपमा हामी त्यो बाटो जाने कुरै आउँदैन ।
आन्दोलनको माग हाम्रो मन्त्रालयसँग सम्बन्धित पनि थिएन । तर पनि दुई जना युवाको मृत्युले म दुःखी छु । भौतिक पूर्वाधारमन्त्री सडकमा आएकै कारणले यो घटना भयो भन्नु शतप्रतिशत गलत कुरा हो । केहीले यो मिथ्यालाई सत्य सावित गर्न खोजिरहेका छन् ।
यो घटना हामीसँग कुनै, कहीँ पनि सम्बन्धित छैन । यो घटनाको न मलाई जानकारी छ, न कतैबाट जानकारी पाइएको छ । अहिले मिथ्यालाई सत्य बनाउने कोशिस गरिँदैछ ।
आफ्नो दोष अरुमाथि थोपरेर आफु चोखो बन्ने प्रयास मात्र हो । सही सुचना नदिने, अवस्थाको मूल्यांकन नगरी गोली चलाउने अनि दोष अरुमाथी लगाउने कुरा एकदमै गलत हो । असत्यलाई सत्य सावित गर्न खोज्ने र सत्यलाई तोडमोड गर्ने कुरा कसैका लागि पनि राम्रो पक्ष होइन ।
[न्युज एजेन्सी नेपाल (नान) का लागि सविन धमलासँगकाे कुराकानीमा आधारित ।]