मुक्कुमलुङ बचाउ आन्दोलनमा किरात विद्यार्थी समन्वय समितिको ऐक्यबद्धता

किरात विद्यार्थी समन्वय समितिले प्रदेश नं १ को ताप्लेजुङमा रहेको किरात समुदायको ऐतिहासिक तथा सांस्कृतिक केन्द्र ‘मुक्कुमलुङ’लाई राज्यले अतिक्रमण गर्न खोजेको भन्दै सोप्रति घोर आपत्ति जनाएको छ ।

समितिका संयोजक सागर सुनुवारले मुक्कुमलुङ अतिक्रमण विरुद्ध एक प्रेस विज्ञप्ति जारी गरी मुक्कुमलुङ बचाउन मुक्कुमलुङ संयुक्त संघर्ष समितिले गर्दै आएको आन्दोलनमा ऐक्यवद्धता समेत जनाएका छन् ।

‘पाथीभरा दर्शन केवलकार प्रालिद्वारा आगामी २०७८ वैशाख ११ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको बाहुलीबाट केवलकार शिलान्यास गर्ने भन्ने विभिन्न सञ्चारमाध्यमद्वारा जानकारी हुन आएकोले आदिवासी किरात समुदायको जायज तथा न्यायिक माग विपरीत राज्य दमनकारी रणनीतिबाट ओतप्रोत भई आफ्नाे दायित्वबाट भाग्दै जबरजस्त सांस्कृतिक अतिक्रमण गर्न खोजेकोप्रति किरात विद्यार्थी समन्वय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘किराती समुदायहरुको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक स्थल मुक्कुमलुङलाई अतिक्रमण गरी सांस्कृतिक महत्व र गरिमालाई नष्ट गर्ने सरकारी कदमप्रति घोर आपत्ति जनाउँदै मुक्कुमलुङ संयुक्त संघर्ष समितिद्वारा घोषित मुक्कुमलुङ बचाउ आन्दोलनप्रति किरात विद्यार्थी समन्वय समितिको ऐक्यबद्धता रहेको जनाउँदै मुक्कुमलुङ संयुक्त संघर्ष समितिले उठाउँदै आएको जायज र न्यायिक मागलाई यथाशिघ्र सम्बोधन गर्न/गराउन नेपाल सरकार तथा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौ ।’

सरकारले आफूहरुको माग सम्बोधन नगरे कठोर संघर्षमा उत्रने समितिले चेतावनी दिएको छ ।

मुक्कुमलुङलाई राज्यले पाथीभरा नामांकन गरी प्रचार गर्न खोजिएकोविरुद्ध तथा मुक्कुमलुङलाई बचाउने र स्थापित गर्ने उदेश्यले भोलि वैशाख ९ गते काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिदैछ ।

मुक्कुमलुङ अतिक्रमणविरुद्ध लिम्बु लगायत आदिवासी समुदायद्वारा प्रदर्शन गरिदै आएको छ । मुक्कुमलुङ लिम्बु समुदायको सांस्कृतिक स्थल हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्