धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रमदान अभियानलाई साथ दिएपछि वडा नं. ४ का अध्यक्ष धनबहादुर राईलाई नेकपा एमालेले कारबाही गर्ने भएको छ।
वडाअध्यक्ष राई २०७९ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए।
उनी मेयर साम्पाङको अभियानमा साथ दिँदै श्रमदान कार्यक्रममा नियमित सहभागी हुँदै आएका छन्।
एमालेको वडा कमिटीले उनलाई कारबाहीका लागि नगर कमिटीमा सिफारिस गरेको छ भने नगर कमिटीले पनि जिल्ला कमिटी हुँदै केन्द्रसम्म प्रक्रिया अघि बढाएको छ।
एमालेले निर्वाचन आयोगलाई पत्र पठाएर वडाअध्यक्ष पदबाट मुक्त गर्नेसम्मको कारबाही गर्न सक्ने बताइएको छ।
एमाले धरान नगर कमिटीका अध्यक्ष हर्कजङ एभेङका अनुसार, वडाअध्यक्ष राई पार्टीको कार्यक्रममा नआउने, पार्टी र नेतृत्वको विरुद्धमा बोल्ने गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।
पार्टीले यसअघि उनलाई लिखित स्पष्टिकरण मागेको थियो। पार्टी र नेतृत्वका गलत कार्यको विरुद्धमा निर्धक्क बोल्दै आएका उनलाई कारबाही प्रक्रिया अघि बढाइएको हो।