ओली सरकारलाई विदा गर्नुको विकल्प छैनः श्रेष्ठ

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएकी छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने इच्छा गरी अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि मात्र अधिवेशन बोलाएकी हुन् ।

तर, जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य तथा सांसद राजेन्द्र श्रेष्ठले अब प्रधानमन्त्री ओलीलाई विदा गर्नुको विकल्प नरहेको बताएका छन् ।

हाल प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने कि नगर्ने ? भन्ने विषयमा जसपाभित्र विवाद रहेको छ । महन्थ ठाकुर र राजेन्द्र महतो ओली सरकारलाई समर्थन गर्ने र डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई ओली सरकारलाई समर्थन नगर्ने पक्षमा देखिएका छन् ।

यसले जसपा विभाजनको तहसम्म पुग्ने अनुमान गर्न थालिएको छ ।

जसपाको छैटौ तहको वरियतामा रहेका नेता श्रेष्ठले वैशाख २७ गते ओली सरकारको विपक्षमा मतदान गरिने बताए ।

उनले केपी ओली संघीय लोकतान्त्रिक गणतन्त्र, पहिचान, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताको विरोधी भएको, उनले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी असंवैधानिक कदम चालेको, उनले प्रदेश सरकारलाई सरकार नठानी संघीय सरकारकै प्रशासनिक युनिट जस्तो व्यवहार गरिरहेको, देश कोभिड–१९ को गम्भीर संकटको अवस्थामा रहेको बेला पनि भ्रष्टाचारलाई प्रश्रय दिनुका साथै महंगी नियन्त्रण नगरेको लगायत विभिन्न कारणले गर्दा अब उनलाई विदा गर्नुपर्ने बताए ।

नेता श्रेष्ठले भने ‘यी सबै स्थितिहरु हेर्दा जति दिन केपी ओली सरकारमा रहन्छ त्यति दिन देशले थप संकट भोग्नुपर्ने स्थिति आउँछ, त्यसकारण कोपी ओली सरकारलाई विदा गर्नुको विकल्प छैन ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्