उदेश्य नै फरक हो भने हात मिलाएर छुटौं

जनता समाजवादी पार्टी नेपाल अहिले फुटको संघारमा छ । सम्भवतः यो पार्टी अब सग्लो रहने छैन ।

जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले अब सहमतिबाटै पार्टी विभाजन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

जसपाभित्र डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने पक्षमा थिए ।

तर महन्थ ठाकुर र राजेन्द्र महतो पछिल्लो समय केपी ओलीको प्रखर समर्थक भएर निस्केका छन् । हाल उनीहरु सरकारमा जाने तयारी समेत गरिरहेका छन् ।

यसबिचमा जसपाको कार्यकारिणी समितिको बहुमत सदस्य (५१ मध्ये ३१ सदस्य) को बैठकले महन्थ ठाकुर, राजेन्द्र महतोसहित चार जनालाई कारवाही अनुरुप स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यता ठाकुर महतो पक्षले कार्यकारिणी समितिको बैठक राखेर उपेन्द्र यादव र बाबुराम भट्टराईलाई कारवाही गर्ने निर्णय गरेको छ ।

कार्यकर्ता तहमा अहिले आरोपप्रत्यारोप र गालीगलौजको अवस्था पैदा भएको छ ।

जसपाका प्रभावशाली नेता मानिने खतिवडाले हिजो एउटा ट्टीव गर्दै अब हात मिलाएरै छुटौ भन्दै पार्टी विभाजनको प्रस्ताव गरेका हुन् ।

‘उदेश्य नै फरक हो भने एउटै पार्टीमा बसेर गाली गरागर गरेर किन स्तर घटाउने ? जे हो त्यो खुल्लमखुला कुरा गरौ, नमिले हात मिलाएर छुटौ, आ–आफ्नाे पार्टी बनाउ,’ खतिवटाको प्रश्न छ, ‘भेटघाट, संवाद र बैठकबाट भागेर के पाइन्छ ? आखिर जतिसुकै माग, मुद्दा र तटस्थ भने पनि अब त सबथोक ७ गते यता प्रष्ट भयो त ?’

जसपाका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरको सहमतिबाटै गत जेठ ४ गते उपेन्द्र यादवले जेठ ८ र ९ गते कार्यकारिणी समितिको बैठक बोलाएका थिए ।

तर अर्का अध्यक्ष महन्थ ठाकुरले जेठ ७ गते एक विज्ञप्ति निकाली बैठक स्थगित गरेका थिए । ठाकुरले एकलौटी रुपमा बैठक रोकेका थिए ।

सोही कारण जेठ ८ गतेको बैठक उपेन्द्र बाबुराम समूहले नरोकी अघि बढाए । सोही दिन ठाकुर महतोसहित चार जनालाई कारवाही गर्ने निर्णय गरे ।

तर जेठ ९ गते ठाकुर पक्षले पनि कार्यकारिणी समितिको बैठक बसेर उपेन्द्र र बाबुरामलाई कारवाही गर्ने निर्णय गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्