जनस्तरमा छलफलै नगरी सुकेटार विमानस्थलको नाम फेरेपछि व्यापक विरोध

सरकारले ताप्लेजुङमा रहेकाे एक मात्र विमानस्थल सुकेटार विमानस्थलको नाम परिवर्तन गरी ‘रवीन्द्र अधिकारी विमानस्थल’ घोषणा गरेको छ ।

शनिबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै सुकेटार विमानस्थललाई पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारीको स्मृतिमा रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेका हुन् ।

नेकपा एमालेका नेतासमेत रहेका स्व. अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा नेता अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा लगायत सात जनाले ज्यान गुमाएका थिए ।

सरकारले तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम पनि परिवर्तन गरी ‘आङछिरिङ शेर्पा विमानस्थल’ बनाउने जनाएको छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सुकेटार विमानस्थल र चुहानडाँडा विमानस्थलको नाम परिवर्तन गरेपछि सो कार्यको आलोचना तथा विरोध गरिएको छ ।

माओवादी केन्द्रका नेता तथा प्रदेश नं १ का सांसद इन्द्र आङ्बोले सरोकारवालाहरुसँग छलफल नै नगरी नाम परिवर्तन गरिएको भन्दै आफ्नाे कमजोरी सच्याउन सरकारसँग आग्रह गरेका छन् ।

सरोकारवालाहरुसँग छलफल नगरी गरिएका यस्ता कार्यहरु रैथाने इतिहास, संस्कृति, पहिचानमाथि राज्यको हस्तक्षेप र हेपाहा प्रवृत्ति रहेको उनको प्रतिक्रिया छ ।

‘स्व. रवीन्द्र अधिकारी र आङछिरिङ शेर्पाको सम्मानको लागि सरकारले निर्माण गर्ने अरु कुनै नयाँ पूर्वाधारमा वा उहाँहरुको आफ्नै भौगोलिक क्षेत्रमा महत्वपूर्ण आयोजनामा नामाङ्कन गरोस् । तर आफ्नै इतिहास, पहिचान, रैथाने संस्कृतिमा आधारित ताप्लेजुङको सुकेटार विमानस्थल र तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम जे छ त्यही रहन दिनुपर्छ वा नयाँ नामाकरण गर्ने भए सरकोकारवालासँगको अन्तरक्रियाको निष्कर्षको आधारमा टुंगोमा पुग्नुपर्छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘इतिहास, संस्कृति, पहिचान र भावनात्मक मनोविज्ञानमाथि राज्यको हस्तक्षेप र हेपाहा प्रवृत्तिले शासक, शासन व्यवस्था र प्रमाणीमाथि नै आक्रोश, अविश्वास र घृणा पैदा गराउँछ र भिडन्ततर्फ लैजान्छ । बजेटमार्फत भएको यो गम्भीर कमजोरीलाई सरकारले समयमै सच्याओस् ।’

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले सरकारले रवीन्द्र अधिकारी र आङ्छिरिङ शेर्पाको ठाउँमा उनीहरुको सम्मानका लागि नाम राख्ने प्रस्ताव ल्याए ठिक भए पनि उनीहरु जन्मेको ठाउँभन्दा धेरै टाढा ताप्लेजुङको सुकेटार र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई रविन्द्र अधिकारी र आङछिरि शेर्पा विमानस्थल नामाकरण गर्नु केपी ओलीको उपनिवेशी सोंच रहेको टिप्पणी गरेका छन् ।

‘कास्की र सोलुमा उहाँहरुको नाममा नयाँ विमानस्थल बनाऊ, हाम्रो आपत्ति छैन,’ लङ्देनले भनेका छन्, ‘तर उहाँहरु आफू जन्मेको भन्दा धेरै टाढा, आफ्नाे कार्यक्षेत्र भन्दा धेरै टाढा ताप्लेजुङको सुकेटार र तह्रथुमको चुहानडाँडा विमानस्थललाई रवीन्द्र अधिकारी र आङ्छिरिङ शेर्पा विमानस्थल नामाकरण गरिनु नवमनुवादी केपी ओलीको उपनिवेशी सोंच हो ।’

उनले लिम्बुवानको पहिचान नष्ट गर्न उद्दत रहेका केपी ओली र उनलाई साथ दिने गाउँगाउँका दलालहरुविरुद्ध ढिलोचाडो निर्मम खालको लडाईं लड्न जरुरी रहेको उल्लेख गरेका छन् ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बुले ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामाकरण एउटा प्रतिनिधि घटनामात्र भएको भन्दै अब प्रतिवाद गर्नुपर्ने औल्याएका छन् ।

उनको भनाइ छ, ‘एकल जातिवादी नश्लवादी शासकको हामीमाथिको अतिक्रमण फेहरिस्त लामो छ । चेत खुलाऔं र प्रतिवाद गरौं ।’

किरात राई यायोक्खाका उपाध्यक्ष जीवन हाताचो राईले स्थानीय पहिचानलाई उपेक्षा गरी सुकेटार विमानस्थलको नाम परिवर्तन गरिएकोमा विरोध गरेका छन् ।

उनले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल बनाउनुको एउटै तर्क बहालवाला मन्त्री ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) जाँदा हेलिकप्टर दुर्घटनामा मृत्यु हुनु हो भने उनीभन्दा अघि सोही स्थानमा बहालवाला मन्त्री गोपाल राईको पनि त्यसरी नै मृत्यु भएको स्मरण गराए ।

बरु पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई रवीन्द्र अधिकारीको नाम दिए राम्रो हुुने उनको राय छ ।

सरोकारवाला समूह वा नागरिकहरुसँग छलफल र परामर्श नै नगरी सुकेटार विमानस्थलको नाम परिवर्तन गरिएकोमा एमाले नेता योगेश भट्टराईले समेत असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भएका नेता भट्टराईले असल काम पनि सही नियत र सही प्रक्रियाबाट गरियो भने मात्र परिणाममा पुग्न सकिने र विवाद नहुने बताएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्