राजनीतिकाे अनैतिक खेलमा नलाग्ने भन्दै नेकपा एमाले (माधव नेपाल पक्ष)का सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।

माधव पक्षले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने निर्णय गरेपछि साेप्रति असन्तुष्ट बनेका रावलले सांसदबाटै राजीनामा दिएका हुन् ।

रावल पछिल्लाे समय पार्टी एकताकाे पक्षमा क्रियाशील हुँदै आएका छन् ।

अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रावलले आफ्नाे राजीनामा पत्र सभामुख अग्निप्रसाद सापकाेटालाइ बुझाएका छन् ।

‘पछिल्लो समय प्रतिनिधिसभाको विघटनदेखि पुन:स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थामा आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहं, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवम् कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ,’ रावलको राजीनामा पत्रमा भनिएको छ, ‘यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयकर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु ।’

Please enter your comment!
Please enter your name here