जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेको छ ।

अलायन्सले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी गत वर्ष पश्चिम रुकुमको सोती गाउँमा अन्तरजातीय विवाहको निहुमा नवराज विकसहित ६ जनालाई हत्या गरिएको घटनामा माओवादी केन्द्रका नेता समेत रहेका शर्मा पीडकहरुकै पक्षमा लागेकाले उनलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेको हो ।

‘गत साल पश्चिम रुकुम सोती गाउँमा अन्तरजातीय विवाहको निहुमा तीन गाउँका कथित उच्च जातीयहरुले लखेटीलखेटी चरम यातना दिएर नवराज विक र उनका ५ जना साथीहरुलाई मारेर भेरी नदीमा फ्याकिदिए । त्यो सम्भवतः नेपालको इतिहासमै सबैभन्दा ठूलो जातीय नरसंहार मध्ये एक हो । जातीय अहंकार र घृणाको सबैभन्दा क्रुर रुप थियो त्यो । उक्त जातीय हिंसाले नेपाली समाजको नेपाली धर्म संस्कारको नेपाली सभ्यताको अन्तर्राष्ट्रिय बेइज्जती भएको सबैले महसुस गरेका छन्,’ अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर सांसद जनार्दन शर्माले संसदमा मृतकहरु आफै भेरी नदीमा हाम फालेर डुबेर मरेका भन्ने झुटो विवरण प्रस्तुत गरे । उनले आफ्ना पार्टीका मानिस र नातेदार अभियुक्तहरु संरक्षण गर्ने अभिप्रायले शक्तिको दुरुपयोग गर्दै कानुनी प्रकृया प्रभावित गरेको आम बुझाइ छ ।’

विवादित व्यक्तिलाई सरकारले अर्थमन्त्री नियुक्त गर्दा तमाम दलित समुदायले अपमान महसुस गरेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘शर्मालाई तुरुन्त बर्खास्त गरी कानुनी शासनको प्रत्याभूति गर्न हामी जोडदार माग गर्दछौं ।’

अलायन्सले अपराधीको पक्षमा संसदमा बोलेकोमा सार्वजनिक रुपमा माफी माग्नुपर्ने, मृतकहरुलाई सहिद घोषणा गर्नुपर्ने र पीडित परिवारका सदस्यहरुलाई रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्ने माग पनि गरेको छ ।

अलायन्सको संयोजकहरुमा दलमर्दन कामी, चन्द्रेश्वर दास, कमला हेमचुरी र डा. मित्र परियार छन् ।

Please enter your comment!
Please enter your name here