राष्ट्रिय जनमुक्तिद्वारा आज लिम्बुवान बन्द

राष्ट्रिय जनमुक्ति पार्टीले आज साउन २२ गते लिम्बुवान बन्द घोषणा गरेको छ ।

आज भन्दा २४७ वर्षअघि अर्थात् १८३१ साउन २२ गते तत्कालिन गोरखा राज्यले छलकपटपूर्ण सन्धिमार्फत् लिम्बुवानको सार्वभौम सत्ता हरण गरेको भन्दै सोको विरोधमा राष्ट्रिय जनमुक्तिको किरात लिम्बुवान खम्बुवान प्रदेश परिचालन समितिले लिम्बुवान बन्द आव्हान गरेको हो ।

तर, लिम्बुवानको जनजीवनमा बन्दको कुनै किसिमकाे प्रभाव परेको छैन ।

राष्ट्रिय जनमुक्तिले गोरखा राज्यले लिम्बुवानको सार्वभौम सत्ता हरण गरेकै दिनदेखि लिम्बुवान स्वायत्तताका लागि आन्दोलन तथा विद्रोह हुँदै आएको जनाएको छ ।

राष्ट्रिय जनमुक्तिले २०६६ सालदेखि हरेक वर्ष साउन २२ गतेलाई कालो दिन भन्दै एकदिने लिम्बुवान बन्द गर्दै आएको छ ।

‘१८३१ साल साउन २२ गते गोरखा राज्यले छलकपटपूर्ण सन्धिमार्फत् लिम्बुवानको सार्वभौम सत्ता हरण गरेकाले त्यही दिनदेखि लिम्बुवान स्वायत्तता निर्माणकाे लागि आन्दोलन र विद्रोह हुँदै आएको हो,’ जनमुक्तिले जारी गरेको पर्चामा भनिएको छ, ‘त्यही दिनलाई मनन् गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत रहने गरी लिम्बुवान स्वायत्त राज्य स्थापनाको संवैधानिक ग्यारेन्टी गर्न हरेक वर्षको साउन २२ लाई लिम्बुवानको कालो दिनको रुपमा २०६६ साल साउन २२ गतेबाट लगातार एकदिने शान्तिपूर्ण लिम्बुवान बन्द गर्दै आएको छ ।’

राष्ट्रिय जनमुक्तिले १८३१ साउन २२ गतेदेखि २०२१ कात्तिक ९ गतेसम्म लिम्बुवान स्वायत्त रहेको थियो भन्ने तर्क भ्रममात्र रहेको जनाएको छ ।

राष्ट्रिय जनमुक्तिले भनेको छ, ‘१८३१ साउन २२ गतेदेखि २०२१ कात्तिक ९ गतेसम्म लिम्बुवान स्वायत्त रह्यो भन्ने तर्क पनि छ । तर यो भ्रम बाहेक केही होइन । वास्तवमा १८३१ साउन २२ गतेको छलकपटपूर्ण सन्धिले लिम्बुवान समाप्त गरेको हो ।’

राष्ट्रिय जनमुक्तिले १८३१ साउन २२ गतेको सन्धिको मूल जगलाई टेकेर आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्य स्थापना गर्नका लागि दबाब दिन लिम्बुवान बन्द गरिएको भन्दै बन्द सफल पार्न मजदुर, किसान, शिक्षक, विद्यार्थी, पत्रकार, बुद्धिजीवी, व्यापारी, व्यवसायी, उद्योगी, प्राध्यापक तथा परिवर्तन र न्यायका समर्थक जनतासँग अनुरोध गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्