एक नम्बर प्रदेशकाे नाम कोशी वा सगरमाथा हुनबाट हामीले राेकिराखेका छाैं

किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले प्रदेश नं १ को नाम भाषा, संस्कृति, भूगोल, सभ्यता र इतिहासको आधारमा ‘किरात प्रदेश’ हुनुपर्ने बताएका छन् ।

उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेता तथा सांसदहरुको बिचमा पहिचानको आधारमा प्रदेश नामाकरण हुनुपर्ने मत बलियो रहेकोले हाल प्रदेश नं १ को नाम कोशी वा सगरमाथा राख्न नसकिरहेकाे बताए ।

यायोक्खाको ३४औं स्थापना दिवसको अवसरमा आज जुम मिटिङमा आयोजित कार्यक्रममा उनले भने, ‘भाषा, संस्कृति, भूगोल, सभ्यता र इतिहासका आधारमा एक नम्बर प्रदेशको नाम किरात प्रदेश हुनुपर्छ भनेर हामीले भनिरहेका छौं । तर यो चिज राजनीतिक दलहरुकै सहमतिको आधारमा वा प्रदेशसभाकाे दुई तिहाइ बहुमतको आधारमा निर्माण हुने हो । त्यसो भएको हुनाले हामीले अहिले त्यहाँका राजनीतिक दलका नेता तथा सांसदहरु, नागरिक समाजका अगुवाहरु, बुद्धिजीवीहरु सबैसँग छलफल गरिरहेका छौं ।’

बढीजसो चाहिँ प्रदेशका मुख्यमन्त्री र प्रदेश सभाका सांसदहरुसँग नै छलफल भइरहेको उनले बताए ।

उनले प्रदेश नं १ को साझा नाम किरात प्रदेश नै हुन सक्ने जिकिर गर्दै भने, ‘कोशी वा सगरमाथा हुनबाट हामीले रोकिराखेका छौं तर किरात नामकरण गर्न चाहिँ सकिरहेका छैनौ ।’

उनले काठमाडौं उपत्यकामा ३२ पुस्ता किरात राजाहरुले शासन गरेको इतिहास भए पनि हालसम्म किरातहरुको सभ्यता र संस्कृतिको निरन्तरता भएको भूगोल अहिलेको १ नम्बर प्रदेश नै भएको बताए ।

उनले यायोक्खाले छैटौं अधिवेशनबाटै राजनीतिक एजेण्डाको रुपमा पहिचानसहितको संघीयता तथा किरात प्रदेशलाई एजेण्डा बनाएको बताए ।

सो क्रममा उनले मातृभाषाहरु संरक्षणका लागि मातृभाषा शिक्षा, किरातहरुकाे साझा लिपि, १२औं राष्ट्रिय जनगणना, खुवालुङ संरक्षण लगायत विविध विषयमा यायोक्खाले गरिरहेको कामबारे प्रकाश पारेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्