जयसिंह धामी प्रकरण भारतीय फौजको नेपालीमाथिको हेपाहा र अक्षम्य अपराध

जनअधिकार अभियान नेपालले दार्चुला तुइन प्रकरण भारतीय फौजको नेपाली माथिको देखादेखि दादागिरी र नेपाल सरकार जनताप्रति गैरजिम्मेवार बन्नुको परिणाम भएको बताएको छ ।

बुधबार राजधानीको संवाद डबलीमा स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अभियानका अध्यक्ष एकराज भण्डारीले भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकमाथि गरेको गम्भीर, अक्षम्य र मानवताविरोधी अपराध भएको बताए ।

वरिष्ठ अधिवक्ता समेत रहेका भण्डारीले नेपालको सीमाक्षेत्रमा बारम्बार नेपाली नागरिकहरु भारतीय सीमा सुरक्षा बल (एसएसबी)द्वारा लुट्ने, अमानवीय व्यवहर मात्रै नभएर हत्या समेत गर्दा पनि नेपाली शासकहरु त्यसप्रति उदासीन बन्नु दुर्भाग्य भएको बताए ।

उनले ब्यास गाउँपालिका वडा नं २ मालघाटमा तुइनबाट खसेर बेपत्ता भएका जयसिंह धामी सम्बन्धी बनेको सरकारी छानविन समितिबाट सत्यतथ्य र न्यायोचित प्रतिवेदन ल्याउन माग गरे ।

सो अभियानका सदस्य तथा दार्चुला घटना स्थलगत अध्ययन–अनुगमन टोलीका प्रमुख अधिवक्ता सन्तोस कोइरालाले प्रतिवेदन सार्वजनिक गर्दै भारतीय सुरक्षाकर्मीले जानाजान तुइन काटेर जयसिंह धामीलाई बेपत्ता पारेको प्रत्यक्षदर्शीले बताएको जानकारी दिए ।

आफूहरुले पीडित परिवार, स्थानीयवासी तथा जनप्रतिनिधि र सरोकारवाला सबै पक्षसँग छलफल र घटनास्थलमा पुगेर सो प्रतिवेदन बाहिर ल्याएको उनले बताए ।

तपाईहरुले सरकारी छानविन समितिको रिपोर्ट भन्दा पहिले किन हतारहतार आफ्नो प्रतिवेदन बाहिर ल्याउनुभयो भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘तपाई हामीले हाम्रो सरकार र नेताहरु चिनेकै छौं, त्यसैले उनीहरुभन्दा पहिले हामी जस्ता अभियान तथा संघसँस्थाले सत्यतथ्य बाहिर ल्याउँदा उसलाई दबाब पुगोस् र घटनालाई तोडमोड नगरियोस् । त्यसैले सकेजति चाँडो ल्यायौं, हतारमा होइन ।’

जनअभधिकार अभियान छानबिन अध्ययन टोलीले गत साउन २० देखि २४ गतेसम्म स्थलगत छानबिन अध्ययन गरेको कोइरालाले दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर २ घटनास्थल मालघाट, स्थानीय निकाय ब्यास गाउँपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय दार्चुला, सुदुरपश्चिम प्रदेश आन्तरिक मामला तथा कानून मन्त्रालय, प्रदेश उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय, सुदुरपश्चिम प्रदेश कैलाली र भारतको धार्चुला तिकरमघाट समेत पुगी बिस्तृत रुपमा घटनाका बारेमा सोधपुछ, छानबिन, पीडित जयसिंह धामीका परिवार, आफन्त, देख्नेसुन्ने, सरोकारवालाहरुसँग प्रत्यक्ष भेट गरी घटना सम्बन्धी आवश्यकता अनुसार लिखित, मौखिक, फोटो, अडियो भिडियो आदि तरिकाहरु अपनाई सो आधारमा प्रारम्भिक प्रतिवेदन तयार पारि सार्वजनिक गरिएको बताए ।

स्थानीय र पीडित परिवारले सत्यतथ्य जानकारी दिए पनि सरकारी निकायहरु र जनप्रतिनिधिहरुले भने त्यसबारे बोल्न आनाकानी गरिरहेको अभियानले जनाएको छ ।

ब्यास गाउँपालिका वडा नं २ स्थित रानीस्थान आधारभुत विद्यालयका प्रधानाध्यापक सुकुन्द्रसिंह धामीले गत साउन २१ गते विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले भारतीय ज्यादतिविरुद्ध आवाज उठाउनुपूर्व सरकारी प्रतिनिधिहरु मौन रहेको र अहिले पनि झारा टार्ने काममा लागेको आरोप लगाएको प्रतिवेदनमा उल्लेख छ ।

नेकपा दार्चुला जिल्ला सेक्रेटरी भरत मल्ल लगायतले भारतीय तर्फबाट सुनियोजित रुपमा सो घटना घटाइएको र सो घटना नेपाल र नेपाली माथिको साम्राज्यवादी आतंकको चरम् पराकाष्ठा भन्दै समयमै सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाहीको माग गरेको प्रतिवेदनमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा जनअधिकार अभियान नेपालका महासचिव रामकुमार भण्डारी, कोषाध्यक्ष दामोदर घिमिरे, केन्द्रीय सदस्य तथा अधिवक्ता कान्तिराम ढुंगाना, देवी ढुंगाना, मानव अधिकारकर्मी तथा अधिवक्ता राजु अधिकारी, अधिवक्ता दिवस निरौला लगायतको उपस्थिति थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्