पाँच महिनापछि माधव नेपालकाे नेतृत्वमा बृहत् समाजवादी पार्टी बन्ने मेटमणि चाैधरीकाे दाबी

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले अब नेकपा एमालेका केपी ओली र नेमकिपाका नारायणमान बिजुक्छे बाहेककाे बृहत् कम्युनिस्ट पार्टी बन्ने बताएका छन् ।

शनिबार काठमाडाैँमा आयोजना गरिएकाे कार्यक्रममा उनले बृहत कम्युनिस्ट पार्टीकाे नेतृत्व माधवकुमार नेपालले गर्ने दाबी गरे ।

चाैधरीले भने, ‘अब केपी ओली र नारायणमान बिजुक्छे बाहेकको बृहत् कम्युनिस्ट पार्टी बनाउँछौं । त्यसमा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादवलगायत सबै हुनुहुन्छ ।’

उनले आफूहरुको पार्टी देशको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरे ।

उनले भने, ‘नेकपा (एकीकृत समाजवादी) पार्टी यो देशको लार्जेष्ट पार्टी बन्छ । हामीसँग यसको रोडम्याप तयार छ । चार/महिनासम्म हामी यही पार्टीको नाममा गतिविधि गर्छौं, त्यसपछि हामी केपी ओलीबाहेक सबै कम्युनिस्ट घटकहरुलाई एकताबद्ध बनाएर लैजान्छौं । यसको अगुवाइ माधव नेपालले गर्नुहुन्छ ।’

साे क्रममा उनले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश संविधान र कानूनसम्मत रहेको जिकिर गरे ।

उनले भने, ‘केपी ओलीले आफू प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश चाहिँ पार्टी, कम्युनिस्ट आन्दोलन, संविधान र कानून समाप्त गर्न ल्याइएको थियो । तर अहिले आएको अध्यादेशले संविधान, लोकतन्त्र र कानून बचाउने काम गरेको छ ।’

उनले केपी ओलीले नेतृत्व गरेको एमाले अब सुक्ने र समाप्त हुने दाबी गरे ।

उनले भने, ‘केपी ओलीले चालेका कदम र लिएका निर्णय कसरी सही छन् ? उहाँले गरेका निर्णय सही छन् भनेर कसले जस्टिफाई गर्न सक्छ ? संसद् विघटन दुई दुई पटक गर्नुभयो । यो गलत हो नि ।’

उनले भीम रावलसहित दोस्रो पुस्तका नेताहरुले थालेको एकता अभियानको इच्छा, उद्देश्य पवित्र भए पनि त्यो पूरा नहुने ठोकुवा गरे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्