शेरधन राईले भने- प्रदेशकाे नाम राख्न नसकेकोमा अफसोच छ

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले आफ्नाे कार्यकालमा प्रदेशको नामकरण गर्न नसकेकोमा अफसोच रहेको बताएका छन् ।

नेकपा एमालेका नेता समेत रहेका उनले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नाे कार्यकालमा भएको प्रगतिको विस्तार गर्दै प्रदेशको नामकरण गर्न नसकेकोमा भने अफसोच रहेको बताएका हुन् ।

‘संविधानले नै नदिएकाले नामको विषयमा मुख्यमन्त्रीले मात्रै चाहेर पनि हुने होइन । नाम र राजधानी एकैपटक टुंगो लगाउने मेरो योजना थियो,’ उनले भने, ‘तर सबै दलको सहमतिमा राजधानी तोकेर नामको विषय थाती राखियो । नाम टुंगो लगाउन नसक्दा मलाई अफसोच छ ।’

एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्रको अन्तरसंघर्षमा आफू बलियो बन्नका लागि बिहीबार (२६ अगस्ट) शेरधन राईलाई मुख्यमन्त्रीबाट राजीनामा गर्न लगाएर सो ठाउँमा भीम आचार्य मुख्यमन्त्री बनाएका हुन् ।

आचार्य माधव नेपाल समूह छोडेर ओलीतिर लागेका हुन् ।

ओली समूहमा रहेका शेरधन राईले प्रदेश १ मा ३ वर्ष ६ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाए ।

प्रदेश १ मा किरात समुदायकै प्रतिनिधित्व गर्ने शेरधन राई मुख्यमन्त्री भएपछि प्रदेशको नाम किरात हुने वा किरात शब्द जोडेर नामकरण हुनेमा पहिचान पक्षधरहरु आशावादी थिए ।

किनभने एमालेले पनि चुनावमा बहुपहिचानको नारा लगाएका थिए । बहुपहिचान एमालेको चुनावी घोषणापत्रमै उल्लेख थियो ।

तर, चुनावपछि ओलीसहित एमालेका ब्राम्हण नेताहरुले पहिचानविरोधी अभिव्यक्ति र क्रियाकलाप गर्न थालेकाले बहुपहिचानसहितको प्रदेश नामकरण हुने आशा समेत मरिसकेको थियो ।

राईले पत्रकार सम्मेलनमा प्रदेशको नामकरण गर्न नसकेकोमा अफसोच भए पनि प्रदेशको विकास निर्माणमा भने फड्को मारेको बताए ।

प्रदेश १ मा सिँचाईं, खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्रमा धेरै काम भएको उनको दाबी छ ।

आफूले कुनै भ्रष्टाचार र अनियमितता नगरेको दाबी गर्ने उनले आफू जनताकाे अगाडि शीर ठाडो पारेर हिड्न सक्ने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्