एकीकृत समाजवादी प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्र राई

नेकपा एकीकृत समाजवादी प्रदेश नम्बर १ को संसदीय दलको नेता राजेन्द्र राई चयन भएका छन् । काठमाडौंमा बैठक बसेर राइलाई संसदीय दलको नेता चयन गरेको हो । राई विरामी भएपछि उपचारका लागि काठमाडौं गएका थिए ।

‘अधिकांश माननीयज्यूहरु काठमाडौं भएकोले उतै बैठक बसेर राइलाई संसदीय दलको नेता चयन गरेका हौं आज नै नेकपा (एस)ले भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा पठाउने तयारी भइरहेको छ,’ प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले भने ।

प्रदेश १ मा एकीकृत समाजवादीको पक्षमा १० जना सांसदले सनाखत गरेका थिए । उनीहरूले गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो । आयोगले संसद सचिवालयलाई पत्रसमेत पठाइसकेको छ ।

राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको थियो । १० जनाले हस्ताक्षर गरेसँगै मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परिसकेका छन् । मुख्यमन्त्री आचार्य भने सदनमा विश्वासको मत प्राप्त गर्ने आशामा छन् । उनीनिकट स्रोतकाअनुसार पार्टी अलग भए पनि समाजवादीतिर गएका सांसदले आफूलाई सघाउने विश्वास छ ।

प्रदेशसभामा हाल कायम संख्या ९२ छ । एमालेमा ५१ सांसद रहेका थिए । त्यसमध्ये एकजना गुलेफुन खातुन फौजदारी अभियोगमा अदालतले कैद सजाय सुनाएकाले फरार छिन् । एमालेकै एक जना सभामुख रहेका छन् । ५१ रहेको एमाले खुम्चिएर ४१ मा झरेको छ ।

‘मुख्यमन्त्री आचार्यलाई हामीले राजीनामा दिन सुझाव दिएका छौं,’ प्रदेश सांसद घिमिरेले भने, ‘उहाँले राजीनामा नदिए विश्वासको मत लिदा उहाँ आफैं ठेगान लाग्नु हुन्छ ।’

प्रदेश सभामा कांग्रेसका २१, माओवादीका १५ र जनता समाजवादीका ३ सांसद छन् । यी तीन दलसँग जम्मा ३९ जना सांसद छन् । त्यसमा एकीकृत समाजवादीका १० जना थपिँदा ४९ जना पुगेको छ । यो संख्या गठबन्धन दलमा रहिरहे गठबन्धनको सरकार बन्न पर्याप्त हुनेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्