विप्लवको प्रश्न : नेपालमा सेना, प्रहरी छैन ? लप्सीफेदी टावरको सुरक्षा गर्न अमेरिकी आउनुपर्ने ?

एमसीसी आयो भने राँको बल्छ

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जबर्जस्ती लाद्ने प्रयास भइरहेको बताएका छन् ।

एमसीसीविरुद्ध सोमबार खुलामञ्चमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै विप्लवले सम्झौता नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र नेपाली जनताको हितविरुद्ध रहेको दाबी गरे ।

सम्झौतामा लप्सीफेदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन एमसीसीको सुरक्षामा रहनेलगायत थुप्रै राष्ट्रघाती प्रावधान रहेको भन्दै उनले आपत्ति जनाए ।

‘एमसीसीमा लप्सीफेदीदेखि बुटवल, गोरखपुरनजिकसम्म अमेरिकी सुरक्षा हुनेछ भन्ने छ । अमेरिकाको राष्ट्रिय सुरक्षाको निम्ति यो लागू हुनेछ भन्ने छ । अमेरिकी राष्ट्रिय सुरक्षा चुनौतीका लागि नेपाललाई प्रयोग गर्ने रणनीति छ । एमसीसीको कानुन लागू हुने भन्ने छ,’ उनले भने, ‘नेपालमा सेना, प्रहरी छैन लप्सीफेदी टावरको सुरक्षा गर्न ? अमेरिकीहरू आउनुपर्ने सुरक्षा गर्न ? कुन स्वाभिमानी नेपालीले मान्छ ?’

विप्लवले नेपालको सेना, अदालत जनतालाई दमन गर्नमात्रै हो भनेर प्रश्न गरे ।

‘नेपालको कानुन अदालत छैन ? नेपालको अदालत र सेना जनतालाई दमन गर्न मात्रै हो ? क्रान्तिकारीहरूको विरुद्ध फैसला गर्न अदालत न्यायाधीश बनाइएको हो ? जनताविरुद्ध बनाइएको हो ?’ उनले प्रश्न गरे ।

विप्लवले पैसाले देश समृद्ध नहुने पनि बताए ।

‘पैसाले समृद्धि हुन्छ ? अमेरिकाले दिएको ५० अर्ब दिएर कायापलट हुन्छ ? अमेरिकाले सित्तैमा पैसा दिँदैछ विरोध गर्नेहरू दुष्ट हुन् भने एकजनाले । तिनीहरू दलाल हुन्,’ उनले भने, ‘आज पैसा पैसा भन्ने कांग्रेसका साथीहरू पैसाले समृद्धि रोकिएको हो ? के पैसाले विकास हुन्छ ? पैसामात्रै भए हुन्छ ? पैसाले कहिल्यै पुग्दैन । अधिकार, स्वतन्त्रता र देश स्वाधीन हुनुपर्छ । विकास र समृद्धिको बाधक पैसा होइन, सत्ता हो । जनताको हातमा सत्ता भयो भने, जनता मालिक भयो भने पहाड बन्छ । नदी बन्छ । देश हराभरा बन्छ ।’

पैसाबाट समृद्धि हुन्छ भन्ने सोच दलाल कमिसनखोरको विकृत सोच भएको विप्लवको भनाइ छ ।

विप्लवले एमसीसी सम्झौताविरुद्ध बोलेकोमा एमाले उपाध्यक्ष भीम रावलको प्रशंसा गरे । ‘मुटुमा रगत भएको मान्छे लड्नुपर्छ । कायरहरू मात्रै हो डराउने,’ उनले भने, ‘भीम रावललाई भन्यौं । एमाले, माओवादीका कमरेडलाई भन्यौं । राष्ट्रवादी कमरेडलाई भन्यौं ।’

एमसीसीको ५० अर्बभन्दा एनसेलको ६२ करोड असुल्न माग

विप्लवले एनसेल एक्लैले ७२ अर्ब अपचलन गरेको भन्दै यसमा दलहरू नबोलेकोमा आपत्ति जनाए ।

‘देश बनाउन एमसीसीको ५० अर्बभन्दा एनसेलको ६२ करोड असुल्नुपर्‍यो । ६२ अर्ब झार्नुको सट्टा अमेरिका ५० करोड डलर ल्याएर कमिसन खाने ? यस्ता दलालाई लखेट्नुपर्छ,’ उनले भने ।

उनले विकासका लागि नेपालमा पैसाको कमी नभएको पनि बताए ।

‘अहिलेसम्म कति विदेशी अनुदान आयो कसले खायो रेकर्ड छ ? सरकारलाई कमिसन खाने चक्कर छ । पैसाको कमी नेपालमा होइन । संसदीय कोषको पैसा कटाएर विकास गर्ने हो भने पनि पुग्छ,’ उनले भने, ‘तर कमिसन खानु छ, विदेशीको पाउ मोल्नु छ, त्यस्तै परे परिवारै भाग्नु छ भन्ने सोंच भएकाले मरिहत्ते गरिरहेका छन् ।’

एमसीसी आयो भने राँको बल्छ

विप्लवले जबर्जस्ती एमसीसी लादिए प्रतिरोध गर्ने चेतावनी दिए ।

‘एमसीसी आयो भने के गर्ने आज त संकेत मात्रै गरेका छौं । यो झिल्को मात्रै हो । केही पैसाको लोभमा जनताको टाउकोमा थोपर्न खोजियो भने झिल्को राँको बन्छ,’ उनले भने, ‘आज काठमाडौंमा झिल्को बालेर हिँडेका छौं । जबर्जस्ती लाद्न खोजियो भने तराईदेखि हिमालसम्म एकढिक्का हुनेछ ।’

एमसीसी सम्झौताका कारण नेपालीले उपनिवेश भएर बस्नुपर्ने अवस्था आउन सक्ने विप्लवको भनाइ थियो ।

‘दलाल, साम्राज्यवादीहरू हाम्रो देश नियन्त्रण गर्न कब्जा गर्न आइरहेको छ । शेरबहादुर देउवा, गठबन्धन र एमाले नेताका कारणले भारतीयहरू ब्रिटिस साम्राज्यवादबाट १९० वर्ष उपनिवेशन बसेजस्तै नेपालीहरू पनि बस्न नपरोस् । त्यसका लागि एकजुट भएर पार्टीभन्दा माथि उठेर लड्नुपर्छ,’ उनले भने ।

विप्लवले सेना, प्रहरी, पत्रकार सबैमाथि अहिले स्वाभिमानी प्रश्न उठेको पनि बताए ।

तपाईले देश रोज्नुहुन्छ कि एमसीसी ? जनता रोज्नुहहुन्छ कि अमेरिकी गुलामी ? पैसा रोज्नुहुन्छ कि स्वाभिमान ?’ उनले प्रश्न गरे, ‘हाम्रो पार्टी जुनसुकै मूल्य चुकाउन तयार छ ।’

विप्लवले आफूहरूमाथिको प्रतिबन्ध फुकुवा गर्दा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाए । ‘कार्यकर्ता छोड्छौं भन्यो । तर राज्यले आलटाल गरिरहेको छ । सहमतिअनुसार छोड्नुपर्छ । इमान्दारीपूर्वक छोड्नुपर्छ । सहमतिलाई हुबहु लागू गर्नुपर्छ,’ उनले भने । न्युज कारखाना

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्