केही साथीहरु एमालेमै बसेर दास बन्ने कोसिस गरे : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको बताएकी छन् ।

गुल्मीको सदरमुकाम तम्घासमा सोमबार आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेत्री झाँक्रीले जनतालाई धोका दिएर केही नेता एमालेको घरमा दास बन्दै गरेको आरोप लगाइन् ।

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिए पनि केपी ओलीले संविधानलाई नै मिचेको उनको आरोप थियो ।

एउटा व्यक्तिको सनकको भरमा पटक–पटक संसद् विघटन गर्ने प्रथाको आफूहरूले विरोध गरेको उनले बताइन् ।

यसो गर्दा ओलीको नजरमा आफूहरू नराम्रो भएकाले त्यहाँबाट निस्केर छुट्टै कम्युनिस्ट पार्टी स्थापना गरेको उनले बताइन् ।

अहिलेको कम्युनिस्ट पार्टीमा सबै अट्न सक्ने उनको भनाइ थियो । आफूहरूले लगातार निर्वाचन जिते पनि उपलब्धि धेरै नभएकाले अब परिणाम देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिइन् ।

फरक प्रसंगमा नेत्री झाँक्रीले आफूहरूले पार्टी निर्माणको तीनमहिने अभियान चलाउने जानकारी दिइन् ।

तीन महिनासम्म देशभरबाट कम्तीमा सात लाख संगठित सदस्य बनाउने उनको दाबी थियो ।

प्रत्येक संगठित सदस्यले निर्वाचनमा परिवारको मात्रै पनि चार भोट ल्याए मात्रै देशभरबाट नेकपा (एकीकृत समाजवादी)को पक्षमा कम्तीमा २८ लाख भोट पार्टीलाई प्राप्त हुने र त्यसपछि नेकपा एमाले बिलाएर जाने उनले बताइन् ।

प्रत्येक संगठित सदस्यले एक दिन पार्टीका लागि काम गर्ने र बाँकी ६ दिन आफ्ना लागि काम गर्ने गरी योजना पार्टीले बनाएको उल्लेख गर्दै उनले पार्टीको हरेक कमिटीमा कम्तीमा ५० प्रतिशत महिला र ४० प्रतिशत ३० वर्षमुनिका युवालाई समावेश गरिने बताइन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्