जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद भइरहेका बेला निर्वाचन आयोगमा आँखा चुनाव चिन्ह राखेर ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ता गरिएको छ ।
आँखा चुनाव चिन्ह जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीको थियो ।
हाल उक्त चुनाव चिन्ह राखेर दीपक लामिछानेको अध्यक्षतामा पार्टी दर्ता गरिएको हो ।
जसपाभित्र हाल विधानमा व्यवस्था भए अनुसार रिक्त रहेको एक अध्यक्ष पदमा वरिष्ठ नेता अशोक राईलाई ल्याउने प्रस्ताव आउँदा विवाद पैदा भएको छ ।
जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव यसका लागि तयार छैनन् । डा. भट्टराई पक्षले पार्टी महाधिवेशनसम्मका लागि भए पनि खाली रहेको पदपूर्ति गर्नुपर्नेमा जोड दिएको छ ।
यसका साथै जसपाभित्र एमसीसीका विषयमा पनि मतान्तर छ । डा. भट्टराई पक्षले एमसीसी संसदबाट पास गर्नुपर्ने बताइरहेको छ भने यादव पक्ष मौन देखिएको छ ।
एमसीसीबारे वरिष्ठ नेता राईले भने नेपालकाे हितविपरीत रहेकाे एमसीसीका सर्तहरु संशोधन भए स्वीकार गर्न सकिने बताएका छन् ।
यद्यपि, एमसीसीबारे जसपाले हालसम्म औपचारिक छलफल तथा निर्णय गरेकाे छैन ।
जसपाभित्र यसरी विवाद तथा मतान्तर भइरहेका बेला आँखा चुनाव चिन्ह राखेर पार्टी दर्ता हुनुलाई अर्थपूर्ण मानिएको छ ।
समावेशी लोकतान्त्रिक पार्टी जसपा नेतृ हिसिला यमीले नै दर्ता गर्न लगाएको समाचार पनि आइरहेका छन् ।
जसपाका केन्द्रीय सदस्य पूर्ण बस्नेतले पनि यसबारे सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । यिनै विवादका कारण अब जसपा फुट्न सक्ने टिप्पणी गरिएकाे छ ।