प्रतिनिधि सभामा पेस भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारेमा बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ ।
प्रतिनिधि सभा सचिवालयले सैद्धान्तिक छलफललाई सम्भावित कार्यसूचीमा समावेश गरिसकेको छ । कार्यसूचीलाई बिहीबार नै बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ ।
प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सैद्धान्तिक छलफल प्रारम्भ हुन लागेको हो । एमसीसीको सैद्धान्तिक छलफल प्रारम्भअघि महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेसको कार्यसूची रहेको छ ।
सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गर्नुहुनेछ । सैद्धान्तिक छलफलमा सम्झौताका सिद्धान्तमाथि बहस हुनेछ ।
जसमा सभामुखले तोकेको समयसम्म नाम टिपाउने सदस्यहरूले धारणा राख्न पाउनेछन् । सैद्धान्तिक छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनुपर्नेछ । साथै जवाफपछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनेछ ।
सैद्धान्तिक छलफलपछि दफावार छलफल हुनेछ । दफावार छलफलमा सम्झौताको दफागत रूपमा विस्तृत छलफल हुनेछ । दफावार छलफलपछि भने सम्झौता पारितको चरणमा जानेछ । गाेरखापत्र अनलाइन