जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्य आसमान तामाङले एमसीसी सम्झौतामा रहेका राष्ट्रघाती बुँदाहरु संशोधन भएमात्रै एमसीसी स्वीकार गर्न सकिने बताएका छन् ।
आफू एमसीसीविरोधी नभएको भन्दै उनले संशोधनबिना एमसीसी स्वीकार गर्न नहुने बताए ।
साल्पा अनलाइनसँग उनले भने, ‘म एमसीसीको विरोधी होइन, तर एमसीसी सम्झौतामा देशका लागि घातक बुँदाहरु छन् ।’
उनले एमसीसी लागू भएपछि नेपालको कानुनसँग बाझिए एमसीसी सम्झाैता नै मान्य हुने, सम्पूर्ण बाैद्धिक सम्पत्तिमा नेपालको हक नलाग्ने, परियोजनाको लेखापरीक्षण नेपालले गर्न नपाउने, नेपालले भारतको समर्थन अनुसार एमसीसीलाई चित्तबुझ्ने योजना बनाउनुपर्ने लगायतका बुँदाहरु नेपालको हित विपरीत रहेको बताए ।
उनले भने, ‘यी बुँदाहरुमा संशोधन हुन्छ भने एमसीसी स्वीकार गर्न सकिन्छ, नत्र सकिन्न ।’
हाल एमसीसीको विषयमा जसपामा दुई धार देखिएको छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीको पक्षमा रहेका छन् भने केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव विपक्षमा छन् ।
एमसीसीको विषयमा छलफल गरी निर्णय लिनका लागि हाल ललितपुरको ग्वार्कोमा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ ।