जसपामा नयाँ विवाद : चुनावमा कसको हस्ताक्षरबाट टिकट बाँड्ने ?

एमसीसीमा छलफलै भएन !

विजय चाम्लिङ

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक निष्कर्षविहीन बनेको छ । शनिबार बसेको बैठकमा स्थानीय तहको चुनावमा कसको हस्ताक्षरबाट टिकट वितरण गर्ने ? भन्नेमा सहमति जुट्न सकेन ।

उम्मेदवार छनोटका विधि र प्रक्रियाबारे शुक्रबारकाे बैठकले नै निर्णय गरेको भए पनि शनिबार पनि दिनभरि नै सोही विषयलाई लिएर छलफल भएको एकजना केन्द्रीय कार्यकारिणी सदस्यले बताए ।

शुक्रबार गाउँपालिका र नगरपालिकाको वडाको उम्मेदवार सम्बन्धित गाउँपालिका र नगरपालिका समितिले नै टुंगो लगाउने,

गाउँपालिका र नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख लगायत उम्मेदवार जिल्ला समितिले टुंगो लगाउने,

उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश समितिले र महानगरपालिकाकाे उम्मेदवारहरु केन्द्रले टुंगो लगाउने निर्णय भएको थियो ।

‘पहिला तीनजना नेताहरु बसेर सहमति गर्नुहोस्, तपाईहरुले जे निर्णय गरेर ल्याउनुहुन्छ हामी मान्छौं भन्ने कुरा भयो ।’

केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट रहेका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तीन प्रमुख नेता (उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई)को हस्ताक्षरमै टिकट वितरण गर्नुपर्ने मत राखेका थिए ।

तर, अध्यक्ष यादवले भने आफ्नै मात्र हस्ताक्षर चल्नुपर्ने अडान राखेका छन् । बैठकमा उनले यसबारे बोलेनन् ।

बैठकमा वरिष्ठ नेता अशोक राईको मात्र हस्ताक्षर चल्ने गरी टिकट बाँड्ने विषय पनि उठेको थियो । तर, वरिष्ठ नेता राईले भने ‘सबै भारी मलाई मात्र बोकाउनुहुन्छ’ भनी प्रतिक्रिया जनाएका थिए ।

कसको हस्ताक्षरबाट टिकट वितरण गर्ने ? भन्नेमा सहमति जुट्न नसकेपछि निकास निकाल्ने जिम्मा तीन प्रमुख नेतालाई दिइएको ती नेताले बताए ।

उनले भने, ‘पहिला तीनजना नेताहरु बसेर सहमति गर्नुहोस्, तपाईहरुले जे निर्णय गरेर ल्याउनुहुन्छ हामी मान्छौं भन्ने कुरा भयो ।’

तीन जना नेताहरु आइबार बस्दैछन् ।

शुक्रबारदेखि ललितपुरकाे ग्वार्काेस्थित इन्द्रेणी गार्डेनमा सुरु भएको बैठककाे दोस्रो दिन एमसीसीको विषयमा पनि छलफल गर्ने तयारी थियो ।

तर, बैठकमा उक्त विषयले प्रवेश नै पाएन ।

विवादका कुरा

जसपाभित्र सामूहिक नेतृत्व र सामूहिक निर्णयका विषय मात्र नभएर पार्टी समायोजनका विषयमा पनि विवाद रहँदै आएको छ ।

जसपाको मधेस प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको समायोजनमै समस्या छ । हालसम्म गण्डकी र सुदूरपश्चिम प्रदेशमा समायोजन नै भएको छैन ।

मधेस प्रदेशको समायोजनमा केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्र राय यादवको गम्भीर असहमति छ ।

शुक्रबार जसपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज गणेशमान गुरुङसहितका नेताहरु पार्टी परित्याग गरी एमालेमा जानुको कारक तत्व पनि पार्टीभित्रको गुटगत विवाद नै हो ।

यद्यपि, शनिबारकाे बैठकमा यादव र भट्टराईबीच उत्पन्न विवाद, असन्तुष्टि र असहमतिबारे खुलेरै कुराकानी गरिएकाे थियाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्