यी हुन् नेपाललाई हिन्दु राष्ट्र बनाउनैपर्ने चार कारण : कमल थापा

हिन्दु धर्मको आधारमा शासन चलाउनुपर्छ भनेको होइन

पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देनले हराइदिएपछि राप्रपा छोडेर राप्रपा नेपाल पुनर्गठन गरेका कमल थापाले प्रमुख चार कारणले नेपाल हिन्दु राष्ट्र हुनुपर्ने बताएका छन् ।

राप्रपा नेपालका अध्यक्ष रहेका थापाले आज फेसबुक लाइभमा आएर नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने चार कारण प्रस्तुत गरेका हुन् ।

उनले हिन्दु धर्मलाई मात्रै राज्यले विशेष संरक्षण र सुविधान दिनुपर्छ भनेर माग नगरिएको बताए ।

‘राप्रपा नेपालले हिन्दु राष्ट्रको कुरा गरेर केवल एउटा मात्र धर्म अर्थात हिन्दु धर्मलाई मात्रै राज्यले विशेष संरक्षण र सुविधा दिनुपर्छ भनेर माग गरेको होइन,’ उनले भने, ‘हामीले हिन्दु धर्मको आधारमा शासन व्यवस्था सञ्चालन गर्नुपर्छ भन्ने माग गरेको होइन । राप्रपा नेपाल सबै धर्मका बिचमा समानता, सबै धर्मलाई बराबरीको स्वतन्त्रता प्रदान गर्ने, नेपालको पहिचानको रुपमा सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र स्थापना हुनुपर्छ भन्ने माग गर्दछ ।’

नेपाल हिन्दु राष्ट्र हुनुपर्ने थापाले बताएका चार कारणः

पहिलो, सनातन धर्म संस्कृति र परम्परा हाम्रो नेपालको र नेपालीको राष्ट्रिय पहिचान हो ।

दोस्रो, सनातन धर्म संस्कृति र परम्परा हाम्रो नेपाली राष्ट्रिय एकताको आधार हो ।

तेस्रो, प्रचीनकालदेखि हाम्रो परिवार, हाम्रो समाज र हाम्रो राज्य व्यवस्था यही सनातन धर्म संस्कृति र मूल्यमान्यताका आधारमा चल्दै आएको छ ।

चौथो, राप्रपा नेपाल त्यो पार्टी हो जसले सनातन धर्म संस्कृति र परम्परामा आधारित भएर पनि राष्ट्रको विकास गर्न सकिन्छ भन्ने सम्बद्र्धनवादी सिद्धान्तलाई अवलम्बन गरेको छ ।

राजतन्त्रको एजेन्डा छोडेर हिन्दु राष्ट्रको मात्र एजेन्डा बोकेका थापाले भने, ‘यिनै कारणहरुले गर्दा राप्रपा नेपालले नेपाललाई सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र बनाऔं भन्ने माग गरेको हो ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्