निजामती ऐन अगाडि बढाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले संघीय निजामती सेवा ऐनलाई अगाडि बढाउन र कर्मचारी समायोजनका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

‘निजामती सेवा समायोजनमा देखिएको असन्तुष्टिलाई यथाशीघ्र सम्बोधन गरिन्छ, जनतालाई मुस्कानसहितको सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्छ’, उनले भने ।

राजनीतिका आधारमा निजामती कर्मचारीलाई भेदभाव नगरी राष्ट्रहितका लागि उनीहरुलाई लगाउनुपर्ने उनको भनाइ थियो । उनले प्रभावकारी ढङ्गले काम गर्न कर्मचारीलाई आग्रह पनि गरे ।

प्रधानमन्त्री देउवाले ट्रेड युनियनको अधिकारलाई संविधानले स्पष्ट व्याख्या गरेको बताउँदै ट्रेड युनियनलाई व्यवस्थित र परिमार्जन गर्दै लैजानको लागि सरकारको पूर्ण समर्थन रहने उल्लेख गरे ।

निजामती कर्मचारीले सरकारको नीति र योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै लैजानुपर्ने उनकाे भनाइ थियाे ।

सरकारलाई सफल बनाउने जिम्मा भनेको निजामती कर्मचारी भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘लोकतान्त्रिक मुलुकमा निजामती सेवाको महत्वपूर्ण भूमिका रहेको छ, निजामती कर्मचारी कानुनप्रति इमान्दार, बफादार, अब्बल र अनुशासित हुनुपर्छ ।’

सरकार र जनताबीच निजामती कर्मचारीले पुलको काम गर्दै आएको उनको भनाइ थियो । रासस

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्